काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति २० खर्ब रूपैयाँ नाघेको छ । २०८१ असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रूपैयाँ कायम भएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।
२०८० असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तसम्म ११ अर्ब ७१ करोड रहेकामा २०८१ असार मसान्तसम्म ३०.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २७ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रूपैयाँ रहेकामा २०८१ असार मसान्तसम्म ३७.४ प्रतिशतले वृद्धि भई १८ खर्ब ४८ अर्ब ५५ करोड रूपैयाँ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तसम्म १ खर्ब ९३ अर्ब ५९ करोड रूपैयाँ रहेकामा २०८१ असार मसान्तसम्म ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ ।
२०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। ।
२०८१ असार मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन्। २०८० असार मसान्तसम्म यी अनुपातहरू क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।
FACEBOOK COMMENTS