काठमाडौ । भारत भ्रमणमा रहेका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
नयाँ दिल्लीमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा छलफल भएकोे मन्त्री शाहीका प्रमुख स्वकीय सचिव लेकविक्रम शाहीले जानकारी दिए । सो अवसरमा मन्त्री शाहीले दुई देश बिच घनिष्ट सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालको विकास र विभिन्न क्षेत्रमा भारत सरकारको सहयोगका लागि आभार व्यक्त गरे ।
उनले भारतमा जस्तै नेपालमा पनि वन क्षेत्र र वन्यजन्तुको सङ्ख्या वृद्धि भइरहेको बताए । उनीहरुबीच जैविक विविधता संरक्षणमा सहकार्य गर्न द्विपक्षीय सम्झौता गर्न सकिने बारेमा छलफल भएको थियो । मन्त्री शाहीले रक्तचन्दन व्यवस्थापनका लागि सहयोग र सहकार्य गर्न चाहेको तथा दक्षिण एसियामा वायु प्रदूषण साझा समस्याका रुपमा रहेकाले कुनै साझा कार्यक्रम वा परियोजना बनाएर काम गर्नुपर्ने बताए ।
उनले हिमालयमा परेको जलवायु असर बारे विश्व समुदायलाई ध्यानाकर्षित गर्न नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ बिषयमा आयोजना गर्न लागेकोे सगरमाथा संवाद कार्यक्रममा औपचारिक निमन्त्रणा गरिने जानकारी दिँदै सहभागिताका लागि अनुरोध गरे ।
भेटमा दुई देशका उच्च अधिकारीको सहभागिता थियो । ‘विश्व दिगो सम्मेलन’मा सहभागी हुन यही फागुन २० गते नयाँ दिल्ली प्रस्थान गरेका मन्त्री शाही फागुन २४ गते स्वदेश फर्कने तालिका छ ।
FACEBOOK COMMENTS