मकवानपुरको भीमफेदीमा भएको भीषण विद्युतीय सवारी (इभी) दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको दुर्घटनाको वास्तविक कारण पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार समितिलाई दुर्घटनाका कारणबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन् ।
समितिले दुर्घटनाका विभिन्न पक्षलाई आधार बनाएर अनुसन्धान गर्नेछ । विशेषगरी सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राखिएको थियो वा थिएन, रुट इजाजतको अवस्था, चालकको अवस्था तथा सडकको भौतिक संरचनाबारे अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।
त्यसैगरी, आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायले चाल्नुपर्ने आवश्यक कदम र सडक सुरक्षाका उपायसमेत समितिको प्रतिवेदनमा समेटिनेछन् ।

भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो १३ महिनामै तीनवटा ठूला दुर्घटना भइसकेको उल्लेख गर्दै प्रजिअ अधिकारीले सडक सुरक्षामा तत्काल सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनका अनुसार सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्न पर्याप्त छैन ।

बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।
