काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ बाट सम्मानित भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा स्थापित सो सम्मान नेपाल जनप्रशासन सङ्घले श्रेष्ठलाई प्रदान गरेको हो ।
दुई लाख रुपैयाँ नगद राशिसहित २१औं संस्करणको सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान गरिएको हो ।
काठमाडौंको सोल्टी होटेलमा आज बिहीबार आयोजित भव्य समारोहका बीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उनलाई सो सम्मान प्रदान गरे ।
नेपालको न्यायिक निकायको नेतृत्व गरी त्यसको संस्थागत विकासमा उनले पुर्याएको अनुकरणीय योगदानको सम्मान गर्दै पूर्वप्राधानन्यायाधीश श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको हो ।
यसअघि नेपाल सरकारका पूर्वमुख्यसचिव केदारभक्त माथेमादेखि वरिष्ठ कूटनीतिज्ञ, लेखक र विश्लेषकको पहिचान बनाएका डा. भेषबहादुर थापासम्मका २० जनाले यो सम्मान प्राप्त गरिसकेका छन् ।
सङ्क्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा उनका विचार, अडान र फैसलाहरूको ऐतिहासिक भूमिकालगायतको विशिष्ट योगदानको कदरस्वरूप उनलाई सो सम्मान प्रदान गरिएको हो ।
सम्मान प्राप्त गरेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठ जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतको न्यायाधीश हुँदै मुलुकको २५औं प्रधानन्यायाधीश बनेका थिए । दशवर्षे द्वन्द्वको अवसान र वृहत् शान्तिसम्झौता, संविधान सभाको निर्वाचनजस्ता घटनाहरूका बखत पूर्वप्रधानन्यायाधीश श्रेष्ठको न्यायिक सक्रियता विशिष्ट छ ।
लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । सो छनोट समितिमा नेपाल जनप्रशासन सङ्घका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले र पूर्वसहसचिव जीवराज कोइराला सदस्य थिए । त्यस्तै, सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा आमन्त्रित सदस्यका रूपमा थिए ।
नेपाल जन प्रशासन संघका उपाध्यक्ष मुकुन्द निरौलाले स्वागत मन्तव्य दिएर सुरू गरिएको कार्यक्रम प्रमुख अतिथि सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि राउतसहित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीप लाल श्रेष्ठ, सम्मान छनोट समितिका संयोजक उमेश प्रसाद मैनाली, नेपाल जन प्रशासन संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा, सम्मानित व्यक्ति पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, जन प्रशासन संघका अध्यक्ष मधुरमण आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । संघका महासचिव डा. दिलिपराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष आचार्यले सम्मान छनोट समितिका संयोजक मैनालीसहित सदस्यहरू, साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीप लाल श्रेष्ठ र अन्य व्यक्तिहरूलाई मायाको चिनो प्रदान गरे ।
किन स्थापना गरियो हेमबहादुर मल्ल सम्मान ?
ख्यातिप्राप्त प्रशासक एवम् व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही सार्वजिक वितरण, सेवा र व्यवस्थापनमा प्रेरणादायी योगदान गरेका थिए । सोही योगदानको कदर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा हेमबहादुर मल्ल सम्मान वि.सं. २०५७ सालमा स्थापना गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्वर्गीय हेमबहादुर मल्लको जन्म वि.सं. १९९५ सालमा निसिभुजी, बाग्लुङमा भएको थियो । उनले साल्ट ट्रेडिङ कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज, प्रमुख सल्लाहकार र अध्यक्षसम्म भएर सेवा गरेका थिए । उनी नेसनल फाइनान्स कम्पनी, सगरमाथा इन्स्योरेन्स र सुवर्ण फर्मास्युटिकल्सको अध्यक्षसमेत भएका थिए ।
त्यस्तै, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, मोरङ सुगर मिल्स, नेपाल वनस्पति घ्यू उद्योग, खाद्य उद्योग र हितकारी गुठीको सञ्चालक रहेर पनि उनले महत्त्वपूर्ण योगदान गरेका छन् । साथै, उनी नेपाल चेम्बर अफ कमर्स र नेपाल व्यवस्थापन सङ्घको कार्यकारी सदस्यसमेत बनेका थिए ।
यसअघि क–कसले पाए हेमबहादुर मल्ल सम्मान ?
सार्वजनिक प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति वा संस्थालाई हेमबहादुर मल्ल सम्मान बर्सेनि प्रदान गरिँदै आएको छ ।
सो सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोईराला, डा. विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेशप्रसाद मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशङ्कर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान, भानुप्रसाद आचार्य र डा. भेषबहादुर थापा सम्मानित भइसकेका छन् ।
जनप्रशासन सङ्घ के हो ?
सार्वजनिक प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीचको पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरवलोकन र मूल्याकङ्नमा पृष्ठपोषण गर्ने उद्देश्यले वि.सं. २०४७ सालमा नेपाल जनप्रशासन सङ्घको स्थापना भएको हो ।
गैरनाफामुखी पेसागत सङ्घको रूपमा स्थापित यस सङ्घले विगतमा जनप्रशासनका विभिन्न विधाहरूमा प्रकाशन, छलफल, अन्तरक्रिया, प्रशिक्षण जस्ता कार्यक्रमहरू आयोजना गरी त्यस्ता कार्यक्रमवाट प्राप्त भएका सुझावहरू नेपाल सरकार एवम् सम्बन्धित निकायहरूमा पठाई सहयोग पुर्याउँदै आएको छ ।
FACEBOOK COMMENTS