काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा अर्थविद् डा. चिरञ्जीवी नेपालले अप्ठ्यारो बेलामा आएको मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको बताएका छन् । कोभिड–१९ ले निरन्तर प्रभावित बनाइरहेको बेला आएको नीतिले समग्रमा राहत प्याकेजको रूपमा काम गर्ने बताउँदै उनले मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको बताएका हुन् ।
कोभिडले गर्दा यो अप्ठ्यारो अवस्थामा सरकारले केही गर्नुपर्छ भन्ने आम जनताको चाहना रहेको र सोहीअनुसार मौद्रिक नीति आएको उनको भनाइ छ । तल्लो वर्गलाई सम्बोधन गर्नेगरी अबको बजेट आउनुपर्नेमा उनको जोड छ । कोभिडको तेस्रो लहरमा हिजो आएको मौद्रिक नीतिले आर्थिक पूनःस्थानमा सहयोग पुग्ने पनि नेपालले विश्वास व्यक्त गरेका छन् ।
शनिबार राजधानीमा आयोजित एक साक्षातकार कार्यक्रममा डा. नेपालले भने, ‘केन्द्रीय बैंक सुविधा÷सहुलियत दिने संस्था होइन । त्यो तपाईँहरू प्रष्ट हुनुपर्छ । सुविधा, सहुलियत, अप्ठ्यारो बेलामा पर्दा दिने भनेको राज्यले हो । सरकारले हो । त्यो भनेको बजेटमार्फत नै हो ।’ उनले अप्ठ्यारो पर्दा केन्द्रीय बैंकले पनि राहत प्याकेज ल्याउनुपर्ने कुराको अहिले आएर आवश्यकत्ता महशुस भएको स्मरण गराए ।
‘केन्द्रीय बैंकको सबभन्दा ठूलो र महत्वपूर्ण काम भनेको मुद्रा स्फितीलाई कन्ट्रोलमा राख्ने, वित्तीय स्थायित्व हेर्ने हो । भोलि वित्तीय स्थायित्व खलबलियो भने संसारलाई कसैले दोष दिँदैन्, केन्द्रीय बैंकलाई नै दिईन्छ,’ उनले भने, ‘संसारमा अहिले केन्द्रीय बैंकले अप्ठ्यारो परेको के भन्दा कोभिडको बेला अघिल्लो वर्ष राहत ल्यायो, सुविधा ल्यायो, अब त्यो पोलिसीलाई कसरी ब्याक गर्ने त्यो सबभन्दा ठूलो कुरा हो । हामीकहाँ त दोस्रो वर्ष पनि त्यो पोलिसी निरन्तर भयो । यो निरन्तर हुँदा खराब कर्जा बढ्नसक्ने हुन्छ । र, कुन क्षेत्रमा कति पैसा गयो भनेर थाहा पाउन गाह्रो हुन्छ ।’
डा. नेपालले पूँजी वृद्धिको कारण जोखिम वहन गर्ने क्षमता वृद्धि भएको स्मरण गराए । उनले सरकारले आर्थिक वृद्धिलाई टेवा दिने र विभिन्न कार्यक्रम लिएर आउनुपर्ने बताए । तर, केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय मापदण्ड हेरेर सबै क्षेत्रलाई छुन खोजेको उनको भनाई छ । उनले भने, ‘हाम्रो अर्थतन्त्र भनेको नै रेमिटेन्समा आधारित छ, आर्थिक क्रियाकलाप नबढ्नुञ्जेलसम्म सामानहरू महँगो हुन्छ । पेट्रोलियम पदार्थहरू सबै महँगो हुँदैछ । भारतबाट आउने भएकाले नेपालमा त महँगो हुने निश्चित् छ ।’
उनले हिजो आएको मौद्रिक नीतिले एउटा सिमित वर्गलाई राहतको रूपमा आएको सुनाए । तर, यसको कार्यान्वयन पक्ष हेर्नुपर्ने उनको भनाई छ । उनले मौद्रिक नीतिले पुँजी बजारलाई राम्रो गर्ने पनि विश्वास दिलाए ।
उनले देशको अर्थतन्त्र सुधार गर्नको लागि खोपको व्यवस्था सुलभ हुनुपर्ने बताए । उनले भने,‘रिस्क लिएर व्यापार व्यवसाय गर्न जाँदैन्, खोप नै पहिलो, दोस्रो र तेस्रो प्राथमिकता हो । यसलाई मध्येनजर गरेर कार्यक्रम ल्याउनुपर्छ ।’ भारतमा किसानलाई राहतस्वरूप घरघरमै पैसा पुर्याएको पनि उनले स्मरण गराए । उनले मौद्रिक नीति कार्यान्वयन हुनेमा आफू आशावादी रहेको सुनाए ।
FACEBOOK COMMENTS