काठमाडौँ । पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
कास्कीको लिचीवारि घुस प्रकरणमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो उपर गुप्ताले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।
गुप्ताको निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
यसअघि सर्वोच्च अदालतले पूर्वमन्त्री गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो । पोखराको लिचीवारि भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्नका लागि २५ लाख रुपियाँ घुस लिएको अभियोग लगाएको थियो ।

FACEBOOK COMMENTS