काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका कांग्रेसका नेता एवं पूर्वमन्त्री दिपककुमार खड्काको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले फाइल मगाउने आदेश गरेको छ ।
न्यायाधीशद्धय महेशकुमार शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले यस्तो आदेश गरेको हो । खड्कामाथि २३ भदौको जेन–जी आन्दोलनपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको थियो । यही क्रममा अनुसन्धानका लागि प्रहरीले १५ चैतमा पक्राउ गरेको थियो ।
‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको लिखित जवाफबाट निवेदकलाई काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति प्राप्त भएको भन्ने उल्लेख भएको देखियो,’ अदालतको आदेशमा भनिएको छ ‘२६ चैत ५ बजेभित्र प्राप्त हुने गरी प्रस्तुत निवेदकका हकमा के कसो भएको हो । खुलाई काठमाडौं जिल्ला अदालतबाट लिखित जवाफ माग गर्नू ।’
त्यस्तै, विभागबाट निवेदकका हकमा भएको अनुसन्धानसँग सम्बन्धित फाइलमा दोस्रोपटक हिरासतमा राख्ने गरी अनुमति प्राप्त गरेको कागजातसहितको सम्पूर्ण कागजात नदेखिँदा सोसहित अनुसन्धान गरिएका थप कागजात महान्यायाधिवक्ताको कार्यालयमार्फत पेशीमा पठाउन अदालतले भनेको छ ।