काठमाडौँ । पाकिस्तानका पूर्व कप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो खेल जीवनमा उनले विभिन्न ढाँचामा गरी ६ हजार १६४ रन बनाएका छन् ।
कराँचीमा जन्मिएका विकेटकिपर ब्याट्सम्यान सरफराजले सन् २००७ नोभेम्बरमा जयपुरमा भारतविरुद्ध एकदिवसीय खेलबाट अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेका थिए । उनले पाकिस्तानका लागि ५४ टेस्ट, ११७ एकदिवसीय र ६१ टी–२० खेल खेलेका छन् । यी खेलहरूमा उनले ६ शतक र ३५ अर्धशतक बनाएका छन् ।
उनको कप्तानीमा पाकिस्तानले सन् २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई १८० रनले पराजित गर्दै उपाधि जितेको थियो । यससँगै पाकिस्तानले आठ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को ठूलो उपाधि हात पारेको थियो ।
सरफराजले १०० अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानको कप्तानी गरेका थिए । उनको नेतृत्वमा पाकिस्तान छोटो ढाँचाको खेलको वरीयतामा पहिलो स्थानमा पुगेको थियो र लगातार ११ सिरिज जित्ने कीर्तिमान पनि बनाएको थियो । उनी कनिष्ठ र वरिष्ठ दुवै स्तरमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को उपाधि जिताउने पाकिस्तानका एक मात्र कप्तान हुन् । उनले सन् २००६ मा भएको १९ वर्षमुनिको विश्वकपमा पनि पाकिस्तानलाई उपाधि दिलाएका थिए ।

FACEBOOK COMMENTS