काठमाडौं । आज एउटै मञ्चमा उपस्थित भएका नेपालका चार जना कम्युनिस्ट पूर्वप्रधानमन्त्रीहरूले कम्युनिस्ट एकतासहित पुराना दलहरू मिल्नुपर्नेमा जोड दिएका छन् ।
मदन भण्डारी फाउन्डेशनले मदन भण्डारीको ७५औँ जन्मजयन्तीको सन्दर्भमा काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल भेला हुनुभएको थियो ।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ’मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’मा उहाँहरूले कम्युनिस्टहरू मिल्नुपर्ने बताए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले वामपन्थी एकताका लागि बाध्यात्मक परिस्थिति खडा भएको बताए । चुनावअघि नै मिलेको भए कम्युनिस्टहरूले कम्तीमा सय सिट ल्याउने भन्दै उनले अब दीर्घकालीन एकता गर्नैपर्ने बताए ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताए । कम्युनिस्टहरू मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने भन्दै उनले आजको भोलि नै पार्टी एकता कठिन भए पनि कार्यगत एकताका लागि भने ढिला गर्न नहुने बताए ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।
एउटा पार्टी मात्र नभई नेपालमा सबै कम्युनिस्ट घटक मिल्नु आवश्यक रहेको तर कुरा गरेर मात्र केही नहुने उहाँको भनाइ छ । मिल्न सक्नुपर्ने जति मिल्नुपर्ने उनले बताए ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको तर कम्युनिस्टहरूका नीति सही भएको दाबी गरे । कम्युनिस्टहरूसँगै सबै लोकतान्त्रिक शक्ति मिलेर अहिलेको ’प्रतिगमन’लाई पराजित गर्नुपर्ने उनको भनाइ छ ।
\उनले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गरे । यसका लागि वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्ने उनको भनाई छ ।
कार्यक्रममा मदन भण्डारी फाउन्डेशनका अध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानलाई समेटेर तयार पारिएको पुस्तकका लेखक रमेश रुछेन राईलाई २ लाख रुपैयाँको पुरस्कार हस्तान्तरण गरे ।