एजेन्सी । फ्रान्सले शनिबार आफ्नो सबैभन्दा शक्तिशाली आणविक ऊर्जा भट्टीलाई राष्ट्रिय विद्युत् ग्रिडमा जोडेको छ । वर्षौंको ढिलाइ र प्राविधिक असफलताका बावजुद सञ्चालनमा आएको यो विद्युत उत्पादन गृहलाई ऐतिहासिक क्षणको रूपमा प्रशंसा गरिएको छ ।
नोर्मान्डीस्थित ‘फ्लाम्यानभिल थ्री युरोपियन प्रेसराइज्ड रिएक्टर’ले स्थानीय समय अनुसार शनिबार बिहान ११ः४८ बजे फ्रान्सेली घरहरूमा बिजुली उपलब्ध गराउन सुरु गरेको इडिएफ पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत लुक रेमोन्टले बताए ।
राष्ट्रपति इमानुएल म्याक्रोँले एक्समा जारी गरेको वक्तव्यमा भने, “यो परियोजनाको सञ्चालन देशका लागि ऐतिहासिक क्षण’ हो । यो विश्वको सबैभन्दा शक्तिशाली आणविक रिएक्टरमध्ये एक हो ।”
“कम कार्बन ऊर्जा उत्पादन गर्न पुनः औद्योगीकरण वातावरणका लागि फ्रान्सेली शैली हो,” उनले थपे । नयाँ पुस्ताको प्रेसराइज्ड वाटर रिएक्टर ९ईपीआर० विश्वको कुनै पनि स्थानमा सम्पन्न भई सञ्चालनमा आएको चौथो परियोजना हो ।
ईडीएफका प्रमुख रेमोन्टले यसलाई ‘ऐतिहासिक’ बताए । “फ्रान्सले २५ वर्षअघि सिभाक्स २ मा रिएक्टर निर्माण सुरु गरेको थियो,” दक्षिणपश्चिमी फ्रान्सको सिभाक्स पावर प्लान्टलाई सङ्केत गर्दै उनले भने । यो एक हजार ६०० मेगावाटको देशकै सबैभन्दा शक्तिशाली रिएक्टर हो र यसले २० लाखभन्दा बढी घरहरूमा बिजुली आपूर्ति गर्नेछ ।
यो परियोजना सञ्चालन प्राविधिक असफलताहरूको अधिकता पछि निर्धारित समय भन्दा १२ वर्ष पछि आएको छ र यसले परियोजनाको लागत प्रारम्भिक ३।३ अर्ब यूरोकोे अनुमानभन्दा चार गुणा बढी अर्थात् १३.२ अर्ब यूरोमा पुगेको छ ।
सेप्टेम्बर ३ मा सञ्चालन गरिएपनि एक दिनपछि ‘स्वतः आफै बन्द’ भएका कारण परियोजना थप समय अवरुद्ध हुनपुगेको थियो तर थप केही हप्ताको प्रविधिक कामपछि यसलाई शनिबारदेखि सञ्चालनमा ल्याइएको हो । रिएक्टरलाई विद्युत् सञ्जालमा जोड्नका लागि क्रमशः उत्पादन वृद्धि गरिएको छ ।
आणविक ऊर्जाले फ्रान्सको ऊर्जा उत्पादनको पाँचभागको करिब तीन भाग ओगटेको छ र यो फ्रान्समा निर्मित विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा कार्यक्रमहरू मध्ये एक हो ।
म्याक्रोँले फ्रान्सको ऊर्जा स्थायित्व बढाउन छ वटा इपिआर र दुई रिएक्टरको माग गरेर आणविक शक्ति बढाउने र थप आठ वटा विकल्पहरू बिछ्याउने निर्णय गरे । यसको लागि अर्बौं यूरो लागत लाग्न सक्छ ।
FACEBOOK COMMENTS