काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ। फागुन १० गतेदेखि नै महानगरले धराहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो।
२०८२ फागुन ९ गतेको मन्त्रिपरिषद्को बैठकले धरहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको हो।
काठमाडौं महानगर प्रहरी बलका प्रमुखको विष्णुप्रसाद जोशीले सुरूआती चरणमा पार्किङ क्षेत्र पर्याप्त रूपमा व्यवस्थित नभएको बताए। महानगरले जिम्मेवारी लिएपछि आवश्यक सुरक्षा तथा पूर्वाधार सुधार गरेर पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको उनले जानकारी दिए।
उनकाअनुसार पार्किङ क्षेत्रमा पहिले अग्नि सुरक्षा उपकरणको अभाव थियो। पार्किङ क्षेत्र रहेको तीन वटा तलामा हाल प्रत्येक तलामा १० वटा दरले ३० वटा अग्नि सुरक्षा उपकरण जडान गरिएको उनले जानकारी दिए।
उनकाअनुसार नौ वटा उपकरण भने पहिला नै जडान गरिएका थिए। पार्किङ क्षेत्रमा सवारीको सुरक्षाको लागि सिसिटिभी क्यामरा समेत जडान गरिएको छ। सिसिटिभी क्यामरा अझै थप गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

FACEBOOK COMMENTS