रामेछाप । वर्षमा दुईपटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय रामेछापका अधिकांश पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् ।
सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि यहाँका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन् ।
जिल्लाको रामेछाप र मन्थली नगरपालिका तथा खाडादेवी गोकुलगङ्गा र लिखु तामाकोसी गाउँपालिकासहित अधिकांश पालिकामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।
पहिला ड्रागनका फाइदासहित यसकाबारेमा जानकरी नहुँदा खेतीप्रति आकर्षण नभएको बताउँदै पछिल्लो समय सामाजिक सञ्जाल युट्युब हेरेर जानकारी पाएपछि व्यावसायिक खेती विस्तार गरेको रामेछाप–८ का शिवराम श्रेष्ठले जानकारी दिए।
सुरुमा खेती गर्दा गाउँलेले ‘यो सिउँडी जस्तो के खेती गरेको ? ’ भनेर आलोचना पनि गरे । पहिलो उत्पादन गाउँलेलाई चखाएपछि उहाँहरूले पनि खेतीप्रति चासो देखाउन थाल्नुभयो, उनले भने । रामेछाप बजार नजिक एक रोपनी जग्गामा खेती गरेको जनाउँदै श्रेष्ठले बजारमा ड्रागनको माग बढी भएकाले बजारीकरणको समस्या नरहेको बताए ।
साठी वर्षीय शिवाराम पेसाले किराना तथा हार्डवेयर व्यवसायी हुन् । पसलका साथै कृषि कर्ममा रमाउने उनी पछिल्ला केही वर्षयता व्यावसायिक ड्रागन खेतीमा रमाइरहेका छन् ।
मन्थली नगरपालिका–५ का रामबहादुर शाही र वडा नं ७ का दिलबहादुर सार्कीले पनि ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका छन् । वर्षमा दुईपटक उत्पादन दिने यो फल स्वादिलो हुनुका साथै पर्याप्त पौष्टिक तत्व पनि पाइने भएकाले अन्तर्राष्ट्रिय बजारबाट यसको माग बढी आउने गरेको रामबहादुरले बताए । यो फल बिरामीका लागि उपयुक्त हुने चिकित्सकहरूले बताएको भन्दै प्रशस्त उत्पादन भए बजारीकरणको समस्या नआउने उनको भनाइ छ ।
यो फल एकपटक लगाइसकेपछि ५०औँ वर्षसम्म ढुक्क हुने र यसलाई धेरै मेहनत नगरिकन आम्दानी लिन सकिने भएकाले आफू खेतीतर्फ आकर्षित भएको रामबहादुरले बताए । वनमारा उम्रेको पाखो बारी फँडानी गरेर करिब तीन रोपनी जग्गामा ड्रागनका बिरुवा लगाएको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS