भोलीदेखि काठमाडौंको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स–२०२३) आयोजना हुने भएको छ । नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागेको छ । एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहने साथै मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । यसै विषयमा रहेर हामीले नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेशकुमार अग्रवालसँग कर्पोरेट खबरले गरेको कुराकानीको सम्पादित अंशः
एक्स्पोमा के कस्ता कम्पनीहरू सहभागी छन् ? के के सामग्री पाइन्छ ?
नेपाली उद्योग र विदेशी कम्पनी गरी १०० भन्दा बढी व्यवसायले भाग लिगेका छन् । यसमा स्वदेशी ६० प्रतिशत र ४० प्रतिशत विदेशी सामग्री रहेको छ । फर्निचर एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहने छ । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने छ । साथै फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्ने व्यक्ति तथा कम्पनीहरू रहने छ ।
यो वर्षको एक्स्पोमा अन्य वर्षभन्दा के के फरक तथा विशेषता छ ?
हामी सधैँ फरक कुरा नै लिएर आउँछौँ । यसपालि हामीले विदेशी भन्दा स्वदेशी सामग्रीहरुलाई प्राथमिकतामा राखेका छौँ । हामीले ग्राहकलाई ध्यानमा राखेर वास्तु परामर्श सेवाकोपनि उपलब्ध गरेका छौँ । अर्थतन्त्र चलायमान बनाउन अहिलेको यस शोले ठुलो योगदान पुर्याउने छ ।
एक्स्पोबाट व्यवसायी र उपभोक्ताले कस्तो–कस्तो सेवा लिन सक्छन् ?
व्यवसायीहरुले उत्पादित सामग्रीहरुको बारेमा जानकारी लिन सक्नुहुन्छ । के–कस्ता नयाँ–नयाँ सामग्रीहरु नेपालमा भित्रिरहेका छन् र कस्ता सामग्रीहरु नेपालमा नै बन्दैछन् भन्ने विषयमा उहाँहरुले यो एक्स्पोबाट जानकारी लिन सक्नुहुन्छ । व्यवसायको थप विकासका लागि कुन सामग्री किन्नुपर्छ र कुन ठाउँमा कस्तो सामग्री बिक्री हुन्छ भन्ने लगायतका विषयमा व्यवसायीहरुले एक्स्पोबाट सम्पूर्ण जानकारी लिन सक्नुहुन्छ । त्यस्तै, उपभोक्ताहरुले पनि नयाँ घर बनाउँदै गर्दा वा घरमा फर्निचर तथा फर्निसिङको कार्यलाई अगाडि बढाउँदा कस्टोमाइजको सुविधा र वास्तु सम्बन्धी आवश्यक परामर्श प्राप्त गर्न सक्नुहुन्छ । साथै, उपभोक्ताहरुले एक्स्पोमा वस्तुहरु हेर्ने, बुझ्ने, छनोट गर्ने र आँफैले पनि कसरी कस्टोमाइज गरेर बनाउन सकिन्छ भन्ने विषयमा समेत बुझ्न सक्नुहुन्छ ।
एक्स्पोले फर्निचर तथा फर्निसिङ उद्योग तथा व्यवसायको क्षेत्रमा कस्तो भूमिका खेल्ने छ?
उपभोक्ता र व्यवसायीहरुले एउटै छातामुनी आएर फर्निचर तथा फर्निसिङ क्षेत्रका धेरै उत्पादनहरुको बारेमा हेर्न र बुझ्न पाइन्छ । एक्स्पोमा कम्तिमा दुई दर्जन भन्दा धेरै फर्निचरका स्टलहरु हुन्छन् । धेरैवटा स्टलहरुमा अलग–अलग सामग्री हुन्छ भने कतिपय स्टलहरुमा एउटै सामग्री फरक–फरक मूल्य र गुणस्तरमा हुन सक्छ । त्यसैले व्यवसायी तथा उपभोक्ताहरुले सो विषयमा राम्रोसँग बुझ्न सक्छन् । मूल्य अनुसार सामग्रीहरुको रुप कस्तो छ, गुणस्तर कस्तो छ, सस्तो महंगो के छ लगाइतका विषयमा पनि बुझ्न सक्छन् । यदि महंगो छ भने किन छ र सस्तो छ भने किन छ भन्ने विषयमा समेत उनीहरुले थाहा पाउन सक्छन् । बजारमा एउटै प्रकारका सामग्रीहरुको विषयमा धेरै ठाउँमा बुझ्न गाह्रो हुन्छ भने यहाँ एउटै छातामुनी सो विषयमा बुझ्न सकिन्छ । सामग्रीहरुका प्राविधिक पक्षलाई समेत बुझ्न सकिन्छ, किनकी एक्स्पोमा विभिन्न कम्पनीका प्राविधिकहरु पनि रहेका हुन्छन् ।
एक्स्पोमा व्यापारको अपेक्षा कस्तो राख्नु भएको छ ?
हामीले अपेक्षा केही राखेका छैनौँ । बजार खस्किँदो अवस्था छ यसलाई सुधार्न हामीले एक्स्पो सञ्चालनमा ल्याउन लागेका हौँ । हामी कारोबारको तथ्याङक राख्दैनौँ । हामीले शो व्यपारकोलागि सञ्चालनमा ल्याउन लागेका हैनौँ । व्यापार बढाउन सके अर्थतन्त्रमा सहयोग पुग्छ । हाम्रो व्यापार बढ्नु भनेको बजार चलायमान हुनु हो ।
ग्राहकहरूले विदेशी सामग्री रुचाएका छन् कि स्वदेशी ?
स्वदेशी सामग्रीको बजारमा बढ्दो माग रहेको छ । हाम्रोमा कार्पेट सबै भन्दा बढी माग रहेको छ । हामी गुणस्तरीय सामग्री दिन सक्छौँ । बन जङ्गल नहुँदा कच्चा पदार्थ छैन यसले गर्दा उत्पादन गर्ने असहज भएको छ । त्यसैले माग धान्न सकेका छैनौँ । हाम्रो स्वदेशी उत्पादनले बजार टिकेको छ । विदेशी सामग्रीले मात्र बजार टिकेको हैन । हामीले केही हद सम्म निर्यात गर्ने सकेका छौँ । कच्चा पदार्थको कमी हुँदा हामीले बजारमा प्रतिस्पर्धा गर्ने सकेनौँ । सहज रूपमा कच्चा पदार्थ पाए अब निर्यातमा जान्छौँ ।
सरकारले तपाईहरुलाई के कस्तो साथ सपोर्ट गर्नुभएको छ ?
अर्थतन्त्रलाई हामीले ठुलो योगदान दिएका छौँ । फर्निचर सामान विलासी सामान हैन । यो अति आवश्यक सामग्री हो । हामी खाट नहुँदा भुईँमा सुत्नु पर्ने हुन्छ । यसको आवश्यकता त फर्निचरले नै पुरा गर्छ त्यसैले यो विलासी वस्तु हैन । सरकारले हामीलाई साथ दिएको छैन तर हामीले साथ दिएका छौँ । सरकारले खर्च धान्न सकेको छैन तर यो धेरै नहोला समस्या हुन्छ समस्याको समाधान हुदैँ जाला भन्ने अपेक्षा राखेका छौँ ।
अन्तयमा के भन्न चाहनुहुन्छ ?
व्यापारीको हौसला बढाउनुस् हामी हजुरको हौसला बढाउँछौँ । हामी यस्तो परिस्थितिमा पनि शो सञ्चालनमा ल्याउँदै छौँ । आउनुस् अवलोकन गर्नुस् । तपाईँहरूको आगमनले केही हौसला मिल्छ । हजुरहरू आउनुस् हेर्नुस् मन परे सामग्री लैजानुस् ।
FACEBOOK COMMENTS