आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिडका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।
नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्राय अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ । “यो अवस्थामा एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्ने छ,” जोशीले भने, “यति मात्र नभई एक्स्पोले आर्थिक कृयाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौं ।”
५ दिनसम्म चल्ने एक्स्पोमा १ सय २० भन्दा बढी स्टल रहने जनाइएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहने आयोजकको भनाई छ । आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गर्नेछ । संघका अनुसार एक्स्पोमा भारत बंगलादेश, पाकिस्तान लगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता जनाउँदैन् ।
एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार एक्स्पोमा सहभागि हुनका लागि बुकिङ खुल्ला गरिएको छ । साउन २३ गतेसम्ममा स्टल बुकिङ गर्नेहरुलाई कुल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।
FACEBOOK COMMENTS