kmकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताएका छन् ।
परिवर्तन नेपाल अभियानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले विसं २०७३ मा तयार पारिएको स्वास्थ्य बीमा कार्यक्रमको अवधारणा आम नागरिक र सरकारलाई बुझाउन नसकिएको बताए ।
“स्वास्थ्य बीमाको कार्यक्रम सरकार र आम जनतालाई बुझाउन नसक्दा उपचारकै निमित्त आम नागरिक घरबारविहीन हुने अवस्था सिर्जना भएको छ, विदेशमा दुःख गरेर कमाएको रकम घरपरिवारको स्वास्थ्योपचारमा खर्च गर्नुपर्ने अवस्था आएको छ”, उनले भने ।
पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरे । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले स्वास्थ्य शिविर गाउँगाउँसम्म लैजान आवश्यक रहेको बताए । उनले जनतामा स्वास्थ्यसम्बन्धी चेतना फैलाउनु जरुरी रहेको उल्लेख गरे ।
परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले अभियानले विभिन्न सामाजिक क्षेत्रमा काम गरिरहेको उल्लेख गरे ।
FACEBOOK COMMENTS