 
			                  			              
काठमाडौ । नेपाली कांग्रेसमा महाधिवेशन विषयको विवाद चुलिएको छ ।
जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कार्यबाहक सभापति पूर्णबहादुर खड्काले रोकेपछि यो विवाद अझ बढेको हो ।
महामन्त्री थापाले बिहीबारको केन्द्रीय समिति बैठकनै बहिष्कार गरेर विद्रोहको संकेत समेत दिएका छन् । विहिबारको बैठक सुरु हुनुअघि कार्यतालिकाको विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग थापा र शर्माको अनौपचारिक छलफल भएको थियो । सो छलफलमा बैठकमा कार्यतालिका प्रस्तुत गर्ने विषयमा कार्यवाहक सभापति खड्का तयार नभए पछि महामन्त्री थापा केन्द्रीय समितिको बैठकमै नबसेर बाहिरिएका थिए ।
कांग्रेसमा सभपतिको सहमतिमा महामन्त्रीले बैठकमा एजेन्डा प्रस्तुत गर्ने चलन रहेकाले आफुले तयार गरेको महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नपाउने भएपछि थापाले केन्द्रीय समितिको बैठकनै बहिष्कार गरेको उनी निकट नेताले बताएका छन् ।
यसअघि पनि थापाले महाधिवेशनका दुई विकल्प केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि प्रस्तुत गरेका थिए, जसलाई संस्थापन पक्षले अस्वीकार गरेपछि उनले सार्वजनिक गरेका थिए । महामन्त्री थापाले जेनजी आन्दोलनपछि परिस्थिति फेरिएको भन्दै महाधिवेशनमा गएर नेतृत्व परिवर्तन नगरेसम्म चुनावमा जान नसकिने बताउदै आएका छन् । अर्कोतर्फ संस्थापन पक्षले भने अब महाधिवेशनमा भन्दा चुनावमा केन्द्रित हुनुपर्ने बताउन थालेका छन् ।

कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने की विशेष महाधिवेशन गर्ने र कहिले गर्ने भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान चाहेको छैन भने दुई महामन्त्री र शेखर कोइराला पक्ष तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । कांग्रेसको अहिलेको कार्यसमितिको पदावधि मङ्सिर महिनासम्म रहेको छ भने बिधानमा एक बर्ष पदावधि थप्न सकिने वयवस्था रहेको छ ।

त्यस्तै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि असोज २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा विशेष महाधिवेशन बोलाउनुपर्ने दबाबमा यो केन्द्रीय समितिको बैठक रहेको छ ।

गत असोज २८ गतेदेखि जारी रहेको केन्द्रीय समितिको बैठक आज पनि दिउसो १ बजे बस्दैछ ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS