काठमाडौँ । नेपाली कांग्रेसमा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार छनौटका लागि सिफारिसको प्रक्रिया शुरु भएको छ ।
यसैक्रममा प्रमुख नेताहरुलाई बिभिन्न जिल्लाबाट सिफारिस हुन शुरु भएको छ । महामन्त्री गगन थापाले आफु काठमाडौँको आफ्नो क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने बताइरहेका बेला उनलाई रोल्पा र धनकुटाबाट सिफारिस गरिएको छ ।
रोल्पाबाट गगन थापासहित लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, मन्दीप सुवेदी र ज्ञानबहादुर वलीको नाम सिफारिस भएको छ ।
त्यस्तै धनकुटाबाट पनि गगनको उम्मेदवारी सिफारिस भएको छ । धनकुटाबाट गगन थापासहित जिल्ला सभापति दिनेश राई, पूर्वजिल्ला सभापति मननारायण श्रेष्ठ, पूर्वजिल्ला सभापति हरिकुमार राईको नाम सिफारिस भएको हो ।
त्यस्तै काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई झापा-१ बाट एकल सिफारिस गरिएको छ । त्यसैगरी काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सुर्खेत-१ बाट एकल सिफारिस गरिएको छ ।

त्यसैगरी काँग्रेस नेता डा। शेखर कोइरालाको नाम मोरङ- ६ बाट एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको छ भने काँग्रेस नेतृ डा आरजु राणा देउवाको नाम कैलाली- ५ बाट सिफारिस गरिएको छ । कैलाली-५ बाट आरजुसहित सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह, डिल्लीराज पन्त, नृपबहादुर वडको नाम सिफारिस भएको हो ।

FACEBOOK COMMENTS