काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता गराएका छन् । उनले अन्यत्रबाट निर्वाचन लड्ने चर्चा चलेकाे भएतापनि अन्तत काठमाडाैं ४ बाटै उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आफूलाई काठमाडौं चारले नै पहिचान दिएको बताए। उनले भने, ‘यो ठाउँबाट प्रतिनिधित्व गर्न पाउँदा मलाई गौरव लाग्छ। यहाँको माटोले मलाई बाँधेको छ। यो क्षेत्रका लागि मैले गर्ने भन्दा पनि यो ठाउँलेनै मलाई धेरै पहिचान दिएको छ। हुर्कन दिएको छ। त्यसैले अन्तबाट निमन्त्रणा हुँदा पनि गइनँ।’
आफूमाथि विश्वास र भरोसा गरेर उम्मेदवार सिफारिस गरेको भन्दै उनले सप्तरी क्षेत्र नम्बर १, कास्की क्षेत्र नम्बर १ र सर्लाही क्षेत्र नम्बर ४ का पार्टी कमिटीलाई धन्यवाद दिएका छन्।
पार्टीको नेतृत्व तहमा रहेको र अब ड्राइभिङ सिटमा आफैं रहेको भन्दै उनले काठमाडौं क्षेत्र नम्बर ४ को विकासका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।
‘२०७० मा संविधानसभामा पठाउनुभयो मैले संविधान निर्माणमा भूमिका निर्वाह गरेँ। २०७४ मा दोस्रोपटक संसदको सदस्यमा निर्वाचित गराउनुभयो, मैले कानुन निर्माणमा भूमिका निर्वाह गरेँ। यसपटक फेरि अवसर दिएमा यो क्षेत्रको विकासमा आफूलाई समर्पित गर्नेछु। अब म ड्राइभिङ सिटमा पनि छु,’ थापाले भने।
सत्ता गठबन्धनमा आवद्ध दल र सचेत नागरिकको साथ रहेको भन्दै थापाले आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताए।
FACEBOOK COMMENTS