काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम तथा त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने उल्लेख गरेका छन् ।
पार्टीबाट असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने उनले उल्लेख गरे । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्तिमार्फत कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्दै सुविचारित ढङ्गबाट अबको बाटो तय गर्ने उल्लेख गरेका छन् ।
विसं २०३३ मा आजकै दिन ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ को नीति लिएर जननायक बिपी कोइराला निर्वासनबाट स्वदेश फर्किएका थिए । त्यसबेला सबै मिलेर हाम्रो देशको लोकतन्त्र, शान्ति र समुन्नतिमा योगदान दिन उनले गरेका आह्वान आज पनि उत्तिकै सान्दर्भिक छ ।
गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपश्चात् मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्ष बन्न पुगेको छ । “नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ । तर गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पु¥याउन नसक्दा केबल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौँ । हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौँ कि निर्वाचनका बेला एउटा गठबन्धन र एउटा वाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन”, विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले वर्तमान सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षका रुपमा सशक्त भूमिका निर्वाह गर्ने तथा राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिने महामन्त्रीद्वय थापा र शर्माको भनाइ छ । कांग्रेसले आफ्नो गौरवशाली इतिहासमा यस्ता अनेकौँ चुनौती र अफ्ठ्यारा मोड सामना गरेको तर हर चुनौतीलाई चिरेर दृढतापूर्वक अघि बढेको छ र देशलाई सफलतापूर्वक निकास दिएको छ । त्यसैले अहिलेको परिस्थितिलाई पनि सङ्कटका रूपमा लिएर हतास हुने छुट आफूहरुलाई नभएको उल्लेख गर्दै उहाँहरुले यसलाई पार्टीको शुद्धीकरण र पुनर्जागरणको नवीन अवसरमा बदल्ने जबर्जस्त तागत प्रस्तुत गर्ने बताएका छन् ।
पार्टीलाई अहिलेको अलमलबाट बाहिर निकाल्नैपर्ने र अहिलेको परिस्थितिलाई शक्तिमा बदलेर पार्टीलाई पुनर्जागृत गर्ने उद्घोषका साथ महामन्त्रीद्वय थापा र शर्माले त्यसका लागि अविलम्ब पार्टीको संरचना र सङ्गठन गतिशील र चुस्त बनाउने बताए ।
विधानत, पार्टीमा बनाउनुपर्ने सबै संरचना र भ्रातृ तथा सुभेच्छुक संस्थाको विधिसम्मत पूर्णता दिने, पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम सञ्चालन गर्ने, विधानबमोजिम गर्नुपर्ने नीति महाधिवेशन गरी पार्टीको नीति योजना र कार्यक्रम तय गर्ने काम अविलम्ब गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
कार्यकर्ता पङ्क्तिमा आत्मविश्वास र आमजनताको भरोसालाई पुनःस्थापित गर्नेगरी पार्टीलाई दिशानिर्देश गर्न पार्टीमा आत्मसमीक्षा गरेर मात्रै नपुग्दैन र त्यसलाई सच्याउँदै आफू बदलिने र देशको मुहार बदल्ने सपना र सङ्कल्प पनि देखाउन सक्नुपर्ने दृढता व्यक्त गरेका थिए ।
‘बदलिएको कांग्रेस र बलियो कांग्रेस’को स्पष्ट खाका निर्माण र अवलम्बन गर्न अब हरेकले फेरि एकचोटी जुर्मुराउनुपर्ने उल्लेख गर्दै उनीहरुले यस अवस्थामा पार्टीको केन्द्रदेखि टोलसम्म, भ्रातृसंस्थादेखि शुभेच्छुक संस्थासम्म, पेशागत बुद्धिजीवीदेखि श्रमिक र किसानसम्म, स्वदेशको गाउँदेखि परदेशको मरुभूमिसम्म जो जहाँ छौँ, त्यहीँबाट संस्थागत या व्यक्तिगतरुपमा गर्नसक्ने योगदानका लागि थप उत्साह, एकता र रुपान्तरणको भावनासाथ अघि बढ्न हामी अपिल गरेका छन् ।
आजको समयसम्म आइपुग्दा वैचारिक रुपान्तरणले होस् या बाध्यताले नेपालका प्रायः सबै राजनीतिक दल संसदीय लोकतान्त्रिक परिपाटीमा समाहित भएका छन् । लोकतान्त्रिक मार्ग नेपालको राष्ट्रिय एकताको साझा अठोट र साझा मार्ग बन्दै गएको छ ।
यसमा सन्तोष मान्नुपर्छ किनकी मूलतः यो बिपी कोइरालाको राजनीतिक विचार र प्रभावको विजय भएको महामन्त्रीद्वय थापा र शर्माले बताए ।तर यसै व्यवस्थाभित्र जन्मिनसक्ने अधिनायकवादी र अतिवादी चिन्तनलाई परास्त गर्न कांग्रेस सदैव सजग रहने उनीहरुको भनाइ छ ।
महामन्त्रीद्वय थापा र शर्माले ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आधार हिजोको समयमा राष्ट्रियताको रक्षा र लोकतान्त्रिक प्रणाली रहेको उल्लेख गर्दै सन्तुलित बाह्य सम्बन्ध, सबल राष्ट्रियता, सुदृढ लोकतन्त्र र सुशासनको मार्गबाट नेपालको समुन्नति सम्भव छ भन्ने मान्यता आजको मेलमिलापको आधार र विश्वास हो भन्ने तथ्यमा आफूहरु प्रष्ट र दृढ रहेको तथा त्यो यात्रामा अविचलित ढङ्गले समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS