काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभाका सदस्य समेत रहेका थापाले संसद्बाट शिक्षा विधेयक सच्याउने भन्दै विद्यालय बन्द नगर्न आग्रह गरे ।
उनले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्, ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसद्मा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ ।’
विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू रहेको भन्दै ती सुधार गर्नै पर्ने थापाको भनाइ छ ।
थापाले भने, ‘संसद्मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौँ ।’
सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा उनको आग्रह छ ।
FACEBOOK COMMENTS