काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो मंसिरमा विशेष महाधिवेशन गर्ने विषय निर्विकल्पजस्तै भएको बताएका छन् ।
उनले मंसिर २७/२८ गतेतिर विशेष महाधिवेशन गरिनुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअघि महाधिवेशन गर्ने विषय अनिवार्य रहेको उनले बताए । उनले आउँदो फागुन २१ गतेको निर्वाचनमा कांग्रेस सहभागी हुने पनि बताए ।
आउँदो निर्वाचनमा भाग नलिने भन्ने राजनीतिक दलहरूलाई पनि संवादमार्फत सहभागिताका निम्ति प्रयास गरिने उनले उल्लेख गरे । निर्वाचनका निम्ति सरकारलाई सहयोग, खबरदारी गर्ने पनि उनले बताए ।
सरकार दलहरूले निर्बाध रूपमा राजनीतिक गतिवधि गर्न पाउने वातावरण बनाउनतर्फ गम्भीर नभएको उनले आरोप लगाए ।

गगन थापाको भनाइ पढ्नोस्–
फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुन्छ । त्योसँगै नेपाली कांग्रेस पार्टीले अहिले निर्वाचनमा भाग लिन्नौँ भनेका दलहरूलाई निर्वाचनमा ल्याउनका लागि हरसम्भव प्रयास गर्दछ । उनीहरूसँग संवाद गर्दछ, उनीहरूलाई निर्वाचनमा ल्याउनुपर्छ भन्ने पहल हुन्छ । सँगै, निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्दछ । हातहतियार बाहिर छन्, कैदीहरू फरार छन् । राजनीतिक दलहरूले निर्बाध रूपले आफ्ना गतिविधि गर्न पाउनुपर्छ । सरकार राजनीतिक दलहरूले निर्बाध आफ्ना गतिविधि गर्न पाउनुपर्नेतिर गम्भीर भइरहेको छैन । फागुन २१ भन्दा अर्को कुनै पनि निकास नेपालको अहिलेको जटिलताले पाउँदैन । केही राजनीतिक दल र समूहको तर्फबाट जबरजस्ती उत्तेजना फैलाउने, प्रतिशोध, निषेधको भाव फैलाउने काम भएको छ । सरकारलाई थप अन्योलतामा लैजाने प्रवृत्ति देखिएका छन् । यो गलत छ, यसको विरुद्धमा हामी उभिन्छौँ । नेपाली कांग्रेसले आजका निर्णयहरूको भारी बोकेर शिर अग्लो बनाएर गर्वका साथ हिँड्न अधिवेशन गर्नैपर्छ । आज गरेको निर्णयलाई अधिवेशनबाट आएको नयाँ नेतृत्वले नै नयाँ नीतिका साथ अघि बढाउन सक्छ । यो अधिवेशन निर्वाचनअघि अनिवार्य गर्नैपर्छ । आवधिक अधिवेशन गर्नुपर्छ । अब निर्विकल्प कुरा भनेको विशेष महाधिवेशन हो । मंसिरको २७/२८ गतेतिर विशेष अधिवेशन गर्नुपर्छ । उत्तेजनाको नेतृत्व एउटा दलले गरिरहेको छ, शान्तिको नेतृत्व नेपाली कांग्रेसले गर्दछ । न्युज एजेन्सी नेपाल

FACEBOOK COMMENTS