काठमाडौं । सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्न केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले साँतबुँदे प्रस्ताव पेस गरेका छन् ।
उनले पेस गरेको प्रस्तावका सात बुँदा
१) नेपाली कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न सकेन । तर सन्तोष मान्नुपर्छ कांग्रेसले अपनाएको मुल नितिको विजय भएको छ ।
कांग्रेसले अंगिकार गरेको राजनैतिक र आर्थिक नितिका पछिल्तिर पुराना/नयाँ सबै दल उभिन आइपुगेका छन् । वर्तमान संविधान, संसदीय प्रणाली, संघीयता र सामाजिक न्याय सहितको उदार अर्थब्यबस्था अबको नेपालमा सबैको साझा मुलमार्ग बन्न पुगेको छ ।
२) नेपाली कांग्रेस प्रतिनिधिसभामा पहिलो दल बनेन, तर दोस्रो दल बनिरहँदा एक संयमित र जिम्मेवार राजनैतिक दल देशको संसदले जिम्मेवार प्रतिपक्षका रूपमा पाएको छ ।
प्रतिपक्षी बेन्च जिम्मेवार ढंगले प्रस्तुत हुँदा त्यसले एकातर्फ लोकतान्त्रिक पद्धतिको सुदृढीकरणलाई बल पुग्छ, अर्कातर्फ समुन्नतिको गतिलाई सकारात्मक साथ पुग्नेछ । राम्रा कुरालाई साथ, खराबीमा खरो विमती कांग्रेसको रहनेछ ।
३) पराजय हुँदा पनि देशभर पार्टीपंक्ति हल्लिएको छैन । दृढ ढंगले अघि बढेर नयाँ परिस्थितिको विकास गर्न सकिन्छ भन्ने उर्जा आम पार्टी सदस्यमा देखिएको छ। यो अत्यन्तै सकारात्मक छ ।
४) विशेष महाधिवेशन मार्फत परिवर्तनको सन्देश लिएर नगएको भए, चुनावमा उर्जाका साथ खट्न सकिने थिएन र यो भन्दा खराब अवस्था आउने थियो ।
अत: पराजय व्यहोरेको भएपनि विशेष महाधिवेशनले नवीन रक्तसञ्चार गरेको थियो भन्नेमा देशभर आम पार्टी सदस्यको अव्यक्त मनोबिज्ञान र व्यक्त धारणा पाइएको छ ।
५) प्रतिकूल अवस्थाबीच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो होईन । तर परिवर्तनको सन्देशले पार्टी पंक्तिमा उर्जा भरेका कारण पार्टी शून्य परिणामको दुर्दशा र चरम निराशामा पुग्नबाट जोगिएको अभिमत पार्टीका शुभेच्छुक बौद्धिक क्षेत्रमा देखिएको छ ।
पार्टीलाई नयाँ योजनाका साथ अघि बढाउन बौद्धिक क्षेत्रको यो समीक्षा र शुभभाव हाम्रो आगामी यात्राका लागि प्रेरक रहनेछ ।
६) उसबेला विशेष महाधिवेशनसँग असहमत रहेपनि निर्वाचन पश्चात् अहिले त्यसभित्रको ठूलो पक्तिमा ‘पार्टी पछि फर्किनुहुन्न, अघि बढ्नुपर्छ, नियमित महाधिवेशनमा सबै सहभागी हुनुपर्छ र पार्टीलाई नवीन सम्भावनाको मार्गमा ऐक्यबद्ध भएर पुरÞ्याउनुपर्छ’ भन्ने भावना प्रबल देखिएको छ । पार्टी सबैको साझा हो, यही अभिमत सबैको साझा अभिष्ट पनि हो ।
७) वर्षौंदेखिको नागरिकको असन्तुष्टि फागुन २१ को निर्वाचनबाट हाम्रो विपक्षमा मतका रुपमा प्रकट भइसकेको छ । अब यो विगत बनिसक्यो । अब नयाँ ढंगले अघि बढेर, कांग्रेसले देशका लागि विगतमा गरेका सबै राम्रा काम शान्तसँग नागरिक पंक्तिमा पुरÞ्याउन हामीलाई समय मिलेको छ । नयाँ परिस्थिति विकास गर्न नयाँ संकल्प र नयाँ विश्वासका साथ नवीन उर्जाले हामी अग्रसर हुनुछ ।
FACEBOOK COMMENTS