काठमाडौं । संसदीय दलको नेतामा पराजित भएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गरेका छन् ।
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थापा ३९ मतान्तरले पराजित भएका छन् । चुनाव हारेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए । तर आफू सरकारमा नजाने बताए ।
उनले भने, ‘सरकारमा अरु साथीहरू जानुहुन्छ । म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु । योभन्दा बाहेक सरकारमा जाने अहिले गर्नु हुन्न, म गर्दिनँ ।’
उनले आफूलाई मत दिनेहरूलाई धन्यवाद पनि दिए । संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेकाले आफू सरकारमा गएर मन्त्री बन्न उपयुक्त नहुने उनले बताए । महामन्त्री र सांसदका रूपमा काम गर्ने उनले उल्लेख गरे ।
FACEBOOK COMMENTS