काठमाडौं । नेपालले आज एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत उत्तर कोरियाको सामना गर्दैछ ।
यो खेल आज नेपाली समय अनुसार १ः४५ बजेदेखि शुरु हुने छ । खेलको प्रत्यक्ष प्रशारण भुटान फुटबल फेडेरेसनको युट्युब च्यानलबाट हुने छ ।
यसअघि नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरबलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपाल समुह ए मा अहिले २ खेलमा अपराजित रहदै ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानलाई १०–० गोल अन्तरले पराजित गरेको थियो ।
समुह ए बाट भुटान र साउदी अरेबिया छनौटको दौडबाट बाहिरिएका छन् भने नेपालले आफ्नो सम्भावना कायम राख्न उत्तर कोरियालाई पराजित गर्ने वा बराबरी खेल्ने विकल्प रहेको छ । नेपाल शिर्ष स्थानमा पुग्न उत्तर कोरियालाई २५ गोलको अन्तरमा पराजित गर्नुपर्ने अवस्था छ।, जुन सम्भव देखिदैन । यस अवस्थामा नेपालले सामान्य जित र बराबरीको विकल्प लिएर मैदानमा उत्रिने छ ।
आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू–२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० महिला एसियाली कप छनोटका लागि बिर्साना चौधरीको कप्तानीमा २३ सदस्यीय टिम भुटान पठाएको छ ।
नेपाली टिमः
गोलकिपरमा लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ रहेकी छिन् ।
डिफेन्डरमा सरिता कुमारीनाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पण्डक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया रहेका छन् ।
यस्तै मिडफिल्डरमा कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (सी) र सेनु परियार र फरवार्डमा कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर रहेका छन् ।
FACEBOOK COMMENTS