‘लत’ जुनसुकै रूपमा खतरनाक हुन्छ, चाहे त्यो जेसुकैको होस् । आधुनिक युगमा ‘गेमिङ’ सबैभन्दा खराब लतका रूपमा देखा परिरहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार ‘भिडिओ गेम’को लतलाई मानसिक ‘डिसअर्डर’ मानिसकिएको छ ।
यदि कोही कुनै भिडिओ गेमलाई भोक, तिर्खा, निद्रा, दैनिक क्रियाकलाप, आराम र जीवनका अन्य महत्त्वपूर्ण क्रियाकलापभन्दा माथि राखेर घण्टौंसम्म खेल्छ भने त्यो मानसिक डिसअर्डर ठहरिन्छ ।
गेम रोक्ने वा अन्त्य गर्ने कुरा व्यक्तिको नियन्त्रणबाहिर हुन्छ, आत्मनियन्त्रण शून्य हुन्छ र व्यक्ति एक्लोपनको सिकार तथा शारीरिक रूपमा अस्वस्थ हुन्छ । गेमिङ लतको पहिलो लक्षण भनेको व्यक्ति आफूलाई कुनै न कुनै प्रकारको लत छ भनेर स्वीकार गर्न तयार नहुनु हो ।
तर, आत्तिनुपर्ने अवस्था छैन । अन्य लतहरूबाट जस्तै भिडियो गेमको लतबाट पनि छुटकारा मिल्न सक्छ । यसका लागि उचित सहयोग र निर्देशनको जरूरत पर्दछ । यहाँ भिडिओ गेमको लतबाट बच्ने उपाय सुझाइएको छ :
समयसीमा निर्धारण
कुनै पनि कामको समयसीमा तय गर्दा जीवन सन्तुलित रहन्छ । त्यसैगरी गेम खेल्नका लागि कडा समयसीमा तोक्नुहोस् र आत्मनियन्त्रणको भावनालाई राम्रोसँग बुझ्नुहोस् । थप दुई मिनेट मात्र खेल्ने धारणाले यसलाई लतमा परिणत गर्न सक्छ । त्यसकारण यदि एक घण्टाको समयसीमा निर्धारण गरिएको छ एक घण्टा मात्र खेल्नुहोस् । त्यसपछि एक मिनेट पनि अतिरिक्त नखेल्नुहोस् ।
अन्य रूचिको खोजी
कहिलेकाहीँ हामीलाई थाहा हुँदैन र हामी आफ्नो लुकेको प्रतिभालाई दबाउँछौं । कम्प्युटर वा मोबाइल स्क्रिनबाट नजर छाडेर केही यस्ता कक्षाहरूमा सामेल हुनुहोस् जसबाट तपाईंलाई अन्य क्षेत्रहरूमा आफ्नो क्षमता विकासमा मद्दत पुगोस् । वास्तविक संसारमा तपाईंको प्रतिभाबाट पाउने पहिचान भर्चुअल संसारमा प्राप्त हुने पहिचानभन्दा बढी सन्तोषजनक हुनेछ । साथै यसले तपाईको दिमागलाई स्वस्थ राख्छ जसले तपाईंलाई खुसी बनाउँछ ।
परिवारसँग समय बिताउनुहोस्
यदि तपाईंले एक्लोपनका कारण गेमिङ लत रोज्नुभएको छ भने आफ्नो सामाजिक सर्कल बढाउनुहोस् । आफ्नो परिवार र साथीहरूसँग बाहिर जानुहोस् वा उनीहरूसँग कुरा गर्नुहोस् । धेरै दिनदेखि नबोलेकाहरूसँग कुरा गर्नुहोस् । यो सामाजिकीकरणले तपाईंको एक्लोपन हटाउनेछ र तपाईंलाई खुसी राख्नेछ ।
चिकित्सकीय मद्दत
यदि तपाईंको गेमिङ लत नियन्त्रणबाहिर छ भने र कुनै पनि विधि काम लागिरहेको छैन भने परामर्शकर्ता वा चिकित्सकको मद्दत लिन नहिचकिचाउनुहोस् ।
FACEBOOK COMMENTS