काठमाडौं । यहाँ बुधबार दुई ठूला महोत्सव सुरु भए । गोरखा महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पोखरा महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुभारम्भ गरे ।
आजदेखि म्याग्दी महोत्सव सुरु भएको छ । माघे सङ्क्रान्ति पर्वको छेकोमा म्याग्दी उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गरेको हो । तनहुँको दमौलीमा सात दिनयता आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सव जारी छ । पर्वत उद्योग वाणिज्य सङ्घ सातौँ पर्वत महोत्सव आयोजनाको सङ्घारमा जुटेको छ । माघ ११ देखि २१ सम्म उक्त महोत्सव सञ्चालन हुनेछ । पोखराको लेखनाथ महोत्सवले आफ्नो १८औँ संस्करण हालै पूरा गरेको छ ।
लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनमा यही पुस ७ देखि १८ गतेसम्म महोत्सव चलेको थियो । चाडपर्वका मौकामा गाउँघरमा आयोजना गरिने स–साना मेला, उत्सवले पनि उस्तै रौनक थपिरहेका छन् । माघेसङ्क्रान्ति पारेर बागलुङको जैमिनी र पोखराको ढुङ्गेसाँघुमा मेला लाग्दैछ । दुवै मेला इतिहास र परम्परासँग जोडिएका छन् । यसै पनि हिउँद मेला, महोत्सवको याम हो । गण्डकी प्रदेशमा पनि यसको लहर छ । अघिल्ला दुई वर्ष कोभिड–१९ महाव्याधिले मेला, महोत्सव ठप्प थिए । स्थिति सहज बनेपछि अहिले महोत्सव आयोजनामा पनि तछाँडमछाड देखिन्छ । महोत्सवको अगुवाइ गर्नेमा व्यवसायी र पर्यटनसम्बद्ध सङ्घसंस्था, स्थानीय क्लबलगायत छन ।
स्थानीय उत्पादन, खेल, कला, संस्कृति, पर्यटन र व्यवसाय प्रवद्र्धनको ध्येय राखेर महोत्सव हुने गरेका छन् । पोखरा महोत्सवको आयोजक युनाइटेट क्लबका अध्यक्ष राजु श्रेष्ठले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन मेला, महोत्सवले टेवा पुग्ने बताए । “महोत्सवले आर्थिक गतिविधि बढ्छ, दर्शकले पनि स्वस्थ मनोरञ्जनको लाभ लिन पाउँछन”, उनले भने , “दुई वर्षसम्म कोरोना महामारीले थलिएको व्यवसाय क्षेत्रलाई थोरै भए पनि राहत पुग्छ ।” महोत्सवबाट व्यावसायिक नाफाघाटा मात्र नसोचेर क्लबले सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको उनले बताए ।
महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्राबास निर्माणमा लगाइने उनको भनाइ छ । महोत्वमा बिक्री हुने प्रत्येक टिकटबाट एक रुपैयाँ सेती नदी संरक्षणका नाममा छुट्याइएको जनाइएको छ । माघ ९ गतेसम्म चल्ने महोत्सवमा दुई सय ५८ व्यावसायिक ‘स्टल’ छन् । तेह्र दिनसम्मको महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको आकलन छ । महोत्सव अवधिभर जातीय वेषभूषा, संस्कृति झल्काउने मौलिक झाँकी तथा नाच प्रस्तुत गरिनेछ । औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ ।
महोत्सवमा दैनिकरूपमा कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहनेछ । रमाइलो बाल उद्यान, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, हाँस्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायत पोखरा महोत्सवका आकर्षणका रूपमा रहेका छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले महोत्सवमा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीसमेत राखिएको बताए । म्याग्दी महोत्सव पनि सातौँ संस्करणसम्म आइपुगेको छ । महोत्सवलाई लक्ष्य गरी सदरमुकाम बेनी बजारमा सिँगारेर चिटिक्क पारिएको छ । यसपालि महोत्सवमा १० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य आयोजकले लिएको छ । अध्यक्ष कटुवालका अनुसार दुई सय ५८ व्यावसायिक ‘स्टल’ छन । म्याग्दी महोत्सव हेर्न जाने दर्शकले हेलिकोप्टर सयरदेखि कालीलगण्डकी नदीमा जलयात्रासम्मको अनुभव लिन पाउनेछन् ।
खुला लोकदोहोरी, पालिकास्तरीय भलिबल, लोकनृत्य प्रतियोगिताजस्ता खेल र मनोरञ्जनका गतिविधि महोत्सवका थप आकर्षण हुन् । नेवार समुदायको ऐतिहासिक हनुमान नाचदेखि विभिन्न जातजातिका परम्परा र रीतिरिवाज झल्काउने झाँकी प्रस्तुत गरिनेछ ।
संस्कृति देखाउने थलो
महोत्सवले गाउँघरको संस्कृतिलाई पनि सहरसम्म ल्याइपु¥याउँछ । जातजातिका मौलिक वेषभूषासहितका नाच र झाँकीले महोत्सवमा उल्लास थप्ने गरेको छ । लोपोन्मुख र दुर्लभ संस्कृति महोत्सवमा देखाउन आयोजक आफँैपनि लालयित हुन्छन् । पैसा खर्चेर भएपनि त्यस्ता सांस्कृतिक नाच र झाँकीलाई आयोजकले महोत्सवमा ठाउँ दिइरहेका हुन्छन् । डढुवा दुर्छा लमजुङ तमु समाज, पोखराका सचिव कृपाकुमार गुरुङले पोखरामा हुने हरेक महोत्सवमा गुरुङ संस्कृति देखाउने गरिएको बताए ।
उनले अघिल्लो पोखरा महोत्सवमा गुरुङ समुदायको झाँकी पुरस्कृत भएको स्मरण गरे । “मेला, महोत्सवले संस्कृति बचाउने काम गरेको छ, आयोजकले आमन्त्रण गरेको ठाउँमा हामी पुग्ने गरेका छौँ”,उनले भने, “पहिचान, संस्कार र संस्कृतिसँग गाँसिएको कुरालाई मानिसहरु रमाउँछन्, चासोपूर्वक लिन्छन् ।” उक्त समाजले बुधबार भएको पोखरा महोत्सवको शुभारम्भ समारोहमा गुरुङ समुदायमा प्रचलित ‘छ्याडु नाच’ देखाएको थियो । छ्याडु दिवङ्गत व्यक्तिका घरमा पितृकार्य चलिरहँदा गरिने संस्कार हो । महोत्सवमा गुरुङसहित, मगर, नेवार, ब्राह्मण, दसनामीलगायतले आफ्नो मौलिक संस्कृतिको प्रदर्शन गरेका थिए ।
नामैतीदेखि भजनसम्मले महोत्सवस्थल गुञ्जायमान बनेको थियो । “मेलापर्वले एकता र भातृत्वको पनि सन्देश दिन्छ, विभिन्न जातजाति र समुदायका मानिस भेला हुने, चिनजान गर्ने मौका पनि मिल्छ”, सचिव गुरुङले भने ।
FACEBOOK COMMENTS