काठमाडौं । गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ ।
आज आयोजित प्रदेश स्थापना दिवसको मूल समारोहमा सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार एकजनालाई सर्वोत्कृष्ट, तीन जनालाई उत्कृष्ट र छ जनालाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिनेछ । एक लाख रुपैयाँको सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार पाउनेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया भट्टराई पङ्गेनी रहेका छन् ।
उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारका लागि डिभिजन वन कार्यालय लमजुङका अधिकृत पूर्णेश्वर सुवेदी, यातायात व्यवस्था कार्यालय कास्कीका अधिकृत डिल्लीराम रिज्याल र स्वास्थ्य कार्यालय मनाङका वरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्य छनोट भएका छन् । उत्कृष्टतर्फको पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँ रहेको छ ।
यस्तै ५० हजार रुपैयाँको प्रदेश निजामती सेवा पुरस्कारबाट यस वर्ष प्रदेश सङ्ग्रहालय पोखराका अधिकृत करुणा राई, पूर्वाधार विकास कार्यालय मुस्ताङका इन्जिनियर विवेक सिग्देल, कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयका अधिकृत अनिल सुवेदी, आर्थिक मामिला मन्त्रालयका अधिकृत रामेश्वर ढुङ्गाना, प्रदेश लोकसेवा आयोगका सहायक पाँचौँ तहमा कार्यरत विष्णु पोखरेल पौडेल र गण्डकी प्रदेशसभा सचिवालयका सूर्यबहादुर बानियाँ रहेका छन् ।
प्रदेश सरकार अन्तर्गतका मन्त्रालय, विभाग र आयोगबाट सिफारिस भई आएका ४४ जनामध्येबाट बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । पुरस्कार गणतन्त्र दिवसका अवसरमा आयोजना हुने समारोहमा प्रदान गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रमेश घर्तीले बताए ।
