काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ जनता टाइम्स डटकमका अध्यक्ष तथा प्रधान सम्पादक गणेशबहादुर बस्नेतलाई दिने निर्णय गरेको छ ।
क्लबका संस्थापक सभापति ऋषि धमलाको सभापतित्वमा पुरस्कार छनौट समितिको आज (बिहीबार) बसेको बैठकले सो निर्णय गरेको हो ।
क्लब नेपालले हरेक वर्ष प्रदान गर्दैआएको सो पुरस्कार क्लबको चैत १७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने २७ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो पुरस्कार प्रदान गर्नेछन् ।
पुरस्कारको राशि नगद एक लाख रुपैयाँ रहेको छ । बस्नेत विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रदर्शन गर्दै आएका बस्नेतले व्यावसायिक पत्रकारिताको संस्थागत विकास प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
प्रेस चौतारीको एक दशक लामो नेतृत्व गरिसकेका बस्नेतले २०५० सालबाट छलफल साप्ताहिकमार्फत पत्रकारिताको सुरूवात गरेका हुन् । बस्नेतले एक दर्जनभन्दा बढी साप्ताहिक पत्रिकामा कार्यकारी सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् ।
पत्रकार बस्नेतले स्पेस टाइम्स दैनिकको समाचार सम्पादक, राजधानी दैनिकको कार्यकारी सम्पादक, सौर्य दैनिकको सम्पादक र च्यानल नेपाल टिभीको समाचार प्रमुखको रूपमा समेत काम गरिसकेका छन् ।
पत्रकार बस्नेतले चीन, अमेरिका, भारत, जापान, दक्षिण कोरिया, जर्मन, फ्रान्स, डेनमार्क, बेल्जियम, नर्वे, फिनल्याण्ड, मलेसिया, हङकङलगायत दुई दर्जनभन्दा बढि देशको भ्रमण गरेका छन् ।
FACEBOOK COMMENTS