काठमाडौं । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ ।
ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको हो ।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाण्डुस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ।
“करिब ७ हजार ५० मिटरको उचाइबाट सम्पर्क विच्छेद भएपछि उनीहरूको खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो । खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहण सामग्री फेला परेका थिए”, प्रमुख जिल्ला अधिकारी खनालले भने, “लगातारको खोजीपछि शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटर उचाइमा दुवैको शव फेला परेको हो ।”
शव काठमाण्डु पठाउने तयारी भइरहेको र परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा परिवारलाई जिम्मा लगाइने जनाइएको उनले बताए । गङ्गापूर्ण हिमालको आरोहण अभियानमा गएका दुई जना जापानी पर्वतारोही गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएका हुन् ।
