काठमाडौँ । चार महिनापछि टेकुस्थित ट्रान्सफर स्टेसनको फोहर व्यवस्थापनको काम सकिएसँगै अब हरेक दिन नागरिकको घरबाट उठाइएको फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुर्याइने भएको छ ।
विगत चार महिनादेखि अल्पकालिन व्यवस्थापनको लागि टेकुमा थुपारिएको फोहर बिहीबारबाट सकिएको छ । यस अघि थुपारिएको फोहर सकिएकाले आगामी दिनमा नागरिकको घरबाट निस्किएको सबै फोहर सोही दिन बञ्चरेडाँडामा लगिने छ । अब यस अघिझैँ टेकुमा फोहर थुपारेर नराखिने बताईएको छ ।
लामो समयदेखिको फोहर व्यवस्थापनको काम सकिएकाले यस अघिझैँ फोहरको कारण काठमाडौँ उपत्यका अस्तव्यस्त नहुने कामनपाको वातावरण विभाग प्रमुख सरिता राईले बताइन्।
सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग भएको सहमति कार्यान्वयनको चरणमा रहेको र कुहिने फोहर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामा नै व्यवस्थापन गर्ने गरी वैकल्पिक स्थान पहिचान गर्न सक्रिय रहेको पनि प्रमुख राईले जानकारी दिइन ।
सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्था जस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौँ उपत्यकाको फोहर टेकुमा अल्पकालीन व्यवस्थापन गरिँदै आएको थियो ।
उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहर व्यवस्थापन कार्य सुरु भएको थियो ।
गत फागुनदेखि कहिले सडकको कारण त कहिले स्थानीयको अवरोधका कारण नियमित रुपमा उपत्यकाको फोहर व्यवस्थापनको काम हुन सकेको थिएन । लामो सयम नियमित फोहर व्यवस्थापनको काम हुन नसक्दा ट्रान्सफर स्टेसनमा फोहरको डङ्गुर थुप्रिएको थियो । हाल कामपा सहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।
FACEBOOK COMMENTS