पोखरा । गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा सोमबार कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटेल पोखरा ग्राण्डमा सफलतापूर्वक सम्पन्न भएको छ ।
साधारणसभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहित शेयरधनीहरूलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (करसहित) को नगद लाभांश सर्वसम्मत पारित गरेको छ ।
त्यसैगरी साधारणसभाले आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरूको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू दिलीपप्रताप खाँड, श्यामप्रसाद बस्याल र दीपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोइरालालाई सर्वसम्मतिबाट निर्वाचित गर्ने निर्णय गरेको छ ।
साधारणसभापश्चात लगत्तै बसेको सञ्चालकहरूको बैठकले दिलीपप्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनीत गर्ने निर्णय गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रूपैयाँ रहेको छ ।
साधारणसभाले पारित गरेको लाभांशअन्तर्गत गत पुस १७ गते कायम रहेका विकास बैंकका शेयरधनीहरूले नगद लाभांश प्राप्त गर्नेछन् ।
विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरू, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएमका साथै नवीनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS