काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरणसम्बन्धी उद्यमीहरूको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन)बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
बुधबार बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र महासंघका तर्फबाट अध्यक्ष रेशमप्रसाद देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात महासंघले संघमा आबद्ध विद्युतीय उपकरणसम्बन्धी उद्यमीहरूलाई गरिमा विकास बैंकमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ कारोबार गर्नका लागि सहजीकरण गर्नेछ ।
यस्तै संघमा आबद्ध उद्यमीहरूले गरिमा विकास बैंक लिमिटेडबाट विकास बैंकले केही समयअघि सार्वजनिक गरेको आर्कषक ब्याजदर योजनाअन्तर्गत ८.४८ प्रतिशतमा व्यवसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा कर्जा प्राप्त गर्नेछन् ।
त्यसैगरी प्रचलित ऐन-नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्डलगायतका सुविधाहरूसमेत प्राप्त गर्नेछन् । सो प्रयोजनका लागि विकास बैंकले छुट्टै कर्जा डेस्कसमेत स्थापना गरी कार्य गर्नेछ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS