काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकामा यस विकास बैंकलाई ‘कर्पोरेट एक्सिलेन्स २०२४ इन डेभलपमेण्ट बैंक, रिजनल बैंक एण्ड फाइनान्स कम्पनी’ विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
गृहमन्त्री मेश लेखकको प्रमुख आतिथ्यमा फागुन १३ गते मंगलबार द प्लाजा, ललितपुरमा आयोजना भएको उक्त अवार्डको जुरी मेम्बरमा प्राडा फत्तबहादुर केसी (जुरी चिफ), सशिन जोशी (विभिन्न वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत रही हाल अध्यक्ष, फोनपे पेमेन्ट सोलुसन प्रालि), सरिता अधिकारी (पूर्वडाइरेक्टर, नेपाल राष्ट्र बैंक) र दिलभूषण पाठक (वरिष्ठ पत्रकार) रहेका थिए ।
यस उपाधिले आफ्ना ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको तथा आगामी दिनहरूमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सबल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकले जनाएको छ ।
गरिमा विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालय, एक एक्स्टेन्सन काउन्टर र ५० एटीएम साथै नवीनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।
