काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुन:स्थापनाका लागि १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकका अनुसार २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंक र बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीको तर्फबाट उक्त सहयोग घोषणा गरिएको हो ।
घोषित सहयोगमध्ये बैंकका कर्मचारीको तर्फबाट एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५ सय ५० रुपैयाँ र बैंकको तर्फबाट ३४ लाख ९० हजार ५ सय ६१ रुपैयाँ गरी कुल ५१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।
त्यस्तै, बैंकले प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा नागरिकको पुन:स्थापनासम्बन्धी कार्यक्रम सञ्चालनका लागि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
यससँगै गरिमा विकास बैंकको घोषित कुल सहयोग रकम १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुगेको छ ।

बैंकले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुन:स्थापनाको कामना गर्दै राहत, पुन:स्थापना र पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउन सरकारी तथा सुरक्षा निकाय, स्थानीय समुदाय, गैरसरकारी संस्था र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको जनाएको छ ।