काठमाडौं । ‘एक्सिस टू अल’ मूल नारा बनाइ १६ वर्षअघि स्थापना भएको गरिमा विकास बैंक हिजो बिहीबार (७ मंसिर २०८०) देखि १६औं वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ ।
नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरूमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले यो यात्रामा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभेच्छुकहरुप्रति कृतज्ञता प्रकट गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले १२३ शाखा कार्यालय र ५१ वटा एटीएम बुथमार्फत नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा सरल, सुरक्षित एवम् गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ ।
हालै प्रकाशित चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले रू. ८० अर्ब निक्षेप सङ्कलन गरेको छ भने करिब रू. ६८ अर्ब कर्जा लगानी गरेको छ । करिब ८ लाख ग्राहकहरुलाई सेवा पुर्याइरहेको गरिमाले आफ्नो वासलात एवम् अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ ।
बैंकले वार्षिकोत्सवमा के–के गर्यो ?
बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको पुतलीसडकमा १२३औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको जनाएको छ ।
देशभर भएका संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका कामहरू यसप्रकार छन्–
१. रक्तदान कार्यक्रम: विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रमबाट १०९ युनिट रगत सङ्कलन भएको छ ।
२. रक्तदान कार्यक्रम: विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट १५२ युनिट रगत सङ्कलन भएको छ ।
३. रक्तदान कार्यक्रम: विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १०५ युनिट रगत सङ्कलन भएको छ ।
४. गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम, म्याग्दीमा न्यानो कपडा वितरण ।
५. श्री शिव पार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्था, स्याङ्जामा न्यानो कपडा वितरण ।
६. गुरुकुल बृद्धाश्रम, स्याङ्जामा न्यानो कपडा वितरण ।
७. विर्तामोड नगरपालिका, झापाको सबै वडाहरुका लागि डस्टबिन हस्तान्तरण ।
८. भृकुटीपथ टोल विकास संस्था एवम् पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबीन हस्तान्तरण ।
९. श्री जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण ।
१०. अनाथ तथा असहाय महिला कल्याण समाज, रुपन्देहीको अनाथ आश्रममा आवश्यक इन्भर्टर हस्तान्तरण ।
११. प्रशान्ति बृद्धाश्रम केन्द्र (सुर्खेत)लाई आवश्यक बेड हस्तान्तरण ।
१२. ट्राफिक व्यवस्थापनलाई थप सहजीकरण हेतु क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना ।
१३. वित्तीय जागरुकताका लागि नेशनल इन्फोटेक कलेज, वीरगञ्जमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना ।
१४. सेती प्रादेशिक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवम् अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण ।
१५. काठमाडौंको बूढानीलकण्ठ मन्दिरलाई १०० थान कुर्सी हस्तान्तरण ।
१६. नेपाल प्रहरी अनाश्रित गुल्म, सुन्धारालाई भिजिटर कुर्सी हस्तान्तरण ।
१७. अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण ।
FACEBOOK COMMENTS