काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले गौशाला धर्मशाला विवाद संयमित प्रक्रियाबाट समाधान गर्न आग्रह गरेको छ । संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै गौशाला धर्मशाला विवाद शान्तिपूर्ण संवादको माध्यमबाट टुङगाउन आग्रह गरेको हो ।
संघले देशको व्यापार व्यवसाय, रोजगारी र राजस्वमा अतुलनीय योगदान गर्दै आएको समुदायलाई बिशुद्ध धार्मिक र सामाजिक सेवाबाट जबरजस्ती बिमुख गराउने प्रयासको भएको भन्दै व्यावसायी समुदायलाई गौशाला धर्मशालाबाट बलपूर्वक हटाउन खोज्नु उचित नभएको जारी विज्ञप्तीमा भनिएको छ ।
उक्त धर्मशालाको विवाद र समस्याको समाधान जबरजस्ती र मुडभेडबाट नभई शान्तिपूर्ण संवादको माध्यमबाट हुनुपर्ने संघले बताएको छ ।
लामो समयदेखि गौशाला धर्मशाला सञ्चालन गरिरहेको व्यवसायीलाई उचित समय नै नदिई बलपूर्वक हटाउने प्रयास गर्दा अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको समुदायको मनोबल कमजोर बनाउन सक्ने जोखिम रहेको संघका अध्यक्ष विनोद कुमार सेठियाले बताएका छन् ।