काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुनर्निर्मित कार्यालय भवनको आइतबार उद्घाटन गरेका छन् । उद्घाटनपछि उनले भवनको अवलोकनसमेत गरेका थिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन पुनर्निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कदरपत्र र प्रशंसापत्र प्रदान गरेका थिए ।
कार्कीले पूर्ण रूपमा क्षति भएका प्रहरी भवन पुनर्निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यस सहयोगले प्रहरी र समुदायबीचको सम्बन्ध अझ आत्मीय बनाउन तथा नेपाल प्रहरीलाई नागरिकमैत्री, उत्तरदायी र सेवाभावका साथ काम गर्न प्रेरणा दिएको बताएका थिए ।

उनले प्रहरी संरचनाको पुनर्निर्माणसँगै समुदाय र प्रहरीबीचको सम्बन्धको पनि पुनर्निर्माण भएको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य जारी रहने अपेक्षा व्यक्त गरेका थिए । साथै, पुनर्निर्मित भवनमा कार्यरत प्रहरी कर्मचारीलाई जिम्मेवार, अनुशासित, पारदर्शी, संवेदनशील र नागरिकप्रति समर्पित भएर काम गर्न निर्देशन दिएका थिए ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले शुभकामना मन्तव्य दिएका थिए। भवन पुनर्निर्माण कार्य समितिका अध्यक्ष एवं काठमाडौं महानगरपालिका–८ का अध्यक्ष आशामान संगतले धन्यवाद ज्ञापन गरेका थिए ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले स्वागत मन्तव्य दिएका थिए भने भवन पुनर्निर्माण समितिका कोषाध्यक्ष वि.एन. पाठकले भवन निर्माणसम्बन्धी प्रतिवेदन र इन्जिनियर डा. शंकर ढकालले प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले, वरिष्ठ प्रहरी अधिकृत, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।