काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघ (नेग्जा)ले जनवरी १२ देखि १५ तरिख (पुस २९, ३० र माघ १ गते)सम्म चौथो ‘जेम एण्ड ज्वेलरी एक्स्पो’ गर्ने भएको छ ।
‘टेकिङ नेप्लिज ज्वेलरी ग्लोबल्ली’ भन्ने मूल नाराका साथ नेग्जाले काठमाडौँस्थित होटल याक एण्ड यति दरबारमार्गमा एक्स्पोको आयोजना गर्न लागेको हो । पुसको २९ गते दिउँसो १२ः३० बजे विशेष समारोहका बीच एक्स्पोको उद्घाटन हुने आयोजकले जनाएको छ ।
एक्स्पोको मुख्य आकर्षण पुस २८ गते साँझ ६ बजे सञ्चालन हुने ‘ज्वेलरी फेसन सो’ मा भारतीय अभिनेत्री मलाइका अरोराले नेपाली पोषाक र आभूषणमा र्याम्पमा प्रस्तुती दिनेछिन् । सो अवसरमा आरवी डाइमण्ड ज्वेलर्स प्रालि, गणपति ज्वेलर्स नेपाल प्रालि, सयपत्री (मेरिगोल्ड) ज्वेलर्स, क्वीन्स ज्वेलर्स गरी ३८ कम्पनीहरुले सहभागिता जनाउनेछन् ।
एक्स्पो सञ्चालनमा नेपाल सरकारका साथै नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संस्थाको समर्थन रहेको जनाइएको छ । एक्स्पोको अवलोकन गर्न भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ड प्रमोशन काउन्सिलका उच्चस्तरीय प्रतिनिधिको समेत सहभागिता रहनेछ । साथै आम उपभोक्ता लगायत सम्पूर्ण आभूषण व्यवसायीहरुलाई समेत अवलोकनका लागि आमन्त्रण गरिएको छ ।
एक्स्पो तथा फेसन शोमा करिब १५ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS