काठमाडौं । यो सामग्री तयार पारिसक्दासम्म जेन–जी समूहले गरेको प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये १४ जनाले ज्यान गुमाइसकेका छन् ।
जेन–जी भनेका तपाईँ हाम्रै बालबच्चाहरू हुन् । के आफ्नै सन्तानमाथि गोली प्रहार गर्दा नेपाल प्रहरीको औँला काँपेनन् ? हो जब सत्ताको रापले र भष्ट्राचारको घेराले समाउँछ आफ्नै सन्तानमाथि गोली प्रहार गर्नुपर्ने अवस्थामा पनि राज्यको औँला काँप्दैन ।
सामान्यतया मानिसले आफ्ना बच्चामाथि प्रहार गर्न सक्दैन, तर जब सरकार आफ्नै नागरिकमाथि गोली चलाउँछ, त्यहाँ दया वा सङ्कोच छैन, बरु अन्धो शक्ति प्रदर्शन मात्रै हुन्छ । अहिलेको अवस्था हेर्दा सरकार अन्धो बनेको स्पष्ट देखिन्छ ।
सडकमा उत्रिएका युवाहरू कुनै व्यक्तिलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउन आएका होइनन् । उनीहरू नि:स्वार्थ भावनाका साथ सामाजिक, राजनीतिक र नैतिक सुधारको माग गर्दै अघि बढेका हुन् । तर, यस्तो बेला उनीहरूमाथि गोली प्रहार हुन्छ, लाठी चलाइन्छ, रगत बगाइन्छ ।
दुर्भाग्यवश, त्यो रगतको छिटा सिंहदरबारका कुर्सीसम्म पुग्दैन र कुर्सीमा बस्नेहरूको कानमा जनताको चित्कारले भरिएको आवाज पनि पुग्दैन । यही नै हाम्रो लोकतान्त्रिक संरचनाको ठूलो विडम्बना हो ।
हिजो नेपाली कांग्रेस र एमालेले आओवादीलाई ‘१७ हजार जनताको हत्यारा’ भन्दै आलोचना गरेका थिए । तर, आज यही शक्तिहरू आफ्नो हातमा आएको सत्ताको प्रयोग गर्दै रगतको होली खेल्न अग्रसर देखिन्छन् । राजनीति केवल आरोप–प्रत्यारोपको खेल मात्र नभई, अहिले ‘रगतसँग खेल्ने संस्कृति’ मा परिणत भएको देखिन्छ । यो औधि गम्भीर कुरा हो ।
जनताको आस्था, युवाको सपना र भविष्यको बाटो काट्नेहरूले सत्ता सम्हाल्दा लोकतन्त्र केवल कागजमा लेखिएको अक्षर मात्रै बन्छ । युवाको रगत सडकमा बग्दा त्यो केवल एक परिवारको शोक मात्र होइन, राष्ट्रकै भविष्यमाथि गरिएको आक्रमण हो । युवाले स्पष्ट भनिरहेका छन्– ‘हामी सत्ताका लागि होइन, सुधारका लागि आएका हौँ’ । तर, सत्ताको लोभमा अन्धा भएकाहरूले ती आवाज सुन्ने हैसियत देखाएका छैनन् । बरु दमन र दहशत देखाएर आफ्नो अस्तित्व कायम राख्न खोजिरहेका छन् ।
अब प्रश्न उठ्छ— के लोकतन्त्र यही हो ? के परिवर्तन भनेको केवल नेताको कुर्सी बदल्नु मात्र हो ? यदि जनताको आवाज सुन्न सकिँदैन भने, जुनसुकै पार्टीले सत्ता चलाए पनि त्यो जनविरोधी नै हुन्छ ।
आजको नेपालमा स्पष्ट देखिन्छ, सत्ता टिकाइराख्न युवाको रगत सडकमा बगाइन्छ र त्यसपछि एउटा प्रेस विज्ञप्ति आउँछ– ‘स्थितिलाई नियन्त्रणमा ल्याइएको छ’ । तर, इतिहासले प्रमाणित गरिसकेको छ, जनताको रगत कहिल्यै व्यर्थ हुँदैन । सरकारले जनचाहनामा काम गर्न सिक्नैपर्छ । यदि सरकार तानाशाहीतर्फ उन्मुख हुन्छ भने, ढिलोचाँडो त्यसको पतन निश्चित छ ।
FACEBOOK COMMENTS