काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा लामो छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको झन्डै तीन घण्टा लामो छलफल निर्वाचन र सरकारका पछिल्ला गतिविधिमा केन्द्रित भएको स्रोतले उल्लेख गरेको छ ।
बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भेटवार्ता चलेको थियो । जेन–जी आन्दोलनपछि प्रधानमन्त्री कार्कीसँग ओलीले एक्लाएक्लै भेट गरेको यो पहिलोपटक हो । जेन–जी आन्दोलनका कारण सरकारबाट बाहिरिएका ओलीले प्रधानमन्त्री कार्कीको नियुक्तिलाई नै अवैध भन्दै आएका थिए ।
पछिल्ला दिनमा सरकारसँग ओलीले सम्बन्ध सुधार गरिरहेका छन् । त्यही क्रममा उक्त भेट भएको अनुमान गरिएको छ । केही दिनअघि ओलीले जेन–जी आन्दोलनका क्रममा भएको घटनाको बयान पनि दिएका थिए ।
‘उहाँहरूबीच तीन घण्टा बढी ’वान अन वान’ छलफल भयो । चुनाव समयमै, शान्तिपूर्ण र भयरहित वातावरणमा गर्ने गरी उहाँहरूबीच तीन घण्टा लामो संवाद भएको छ । प्रधानमन्त्रीले एमाले अध्यक्षलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरण बनाउन सरकार तयार भएको बताए ।
यसमा एमालेले सहयोग गर्ने, सहभागी हुनेगरी लिएको तत्परताको प्रधानमन्त्रीले प्रशंसा गनुृभएको छ । आगामी दिनमा पनि एमालेले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो,’ प्रधानमन्त्री प्रेस संयोजक राम रावलले भने, ‘एमाले अध्यक्षले आफ्नो पार्टी ध्वंस गर्ने होइन, निर्वाचनमा बाधा विरोध गर्दैन भन्नुभएको छ । हामी आफ्नो तरिकाले निर्वाचनमा सहभागी हुन्छौँ भन्नुभएको छ ।’

FACEBOOK COMMENTS