काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरूको वास्तविक जीवन भोगाई समेटिएको पुस्तक ‘हाम्रो जीवन, हाम्रा कथाहरू : नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक’ आज विमोचन गरिएको छ ।
मितिनी नेपालले आज काठमाडौंमा आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा उपस्थिति ज्येष्ठ नागरिकहरूबाट संयुक्त रूपमा सो पुस्तक विमोचन गरिएको हो ।
पुस्तकमा मितिनी नेपालले सञ्चालन गरेको ज्येष्ठ नागरिक परियोजना अन्तर्गत कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ५० देखि ७५ वर्ष उमेरका १० जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरूको कथा समेटिएको छ ।
यस्तै, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकका विभिन्न सवालहरू जस्तै: आर्थिक संघर्ष, नागरिकतासम्बन्धी मुद्दा, सरकारी सेवा तथा सुविधामा समुदायका ज्येष्ठ नागरिकको पहुँचको अवस्था, पारिवारिक तथा सामाजिक विभेद, आवासको समस्या, सफलताको कथा, राजनीतिक सहभागिता, सन्तान ग्रहणलगायत वैवाहिक समानता नहुँदा ती समुदायका जोडीले भोग्दै आइरहेका चुनौतीहरूलाई वास्तविक पात्रमार्फत् पुस्तकमा उजागर गरिएको मितिनी नेपालकी कार्यक्रम निर्देशक सरिता केसीले जानकारी दिइन् ।
नेपालको संविधान २०७२ को धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी उल्लेख गरेको छ । यसैगरी, धारा ४३ ले आर्थिक रूपले विपन्न, अशक्त र अराहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भनी सुनिश्चित गरेको छ । यद्यपि, सविधानमा भएका यी व्यवस्थाका बाबजुद लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकहरूले अन्य ज्येष्ठ नागरिकको तुलनामा विभिन्न चुनौतीहरूको सामना गरिरहेका निर्देशक केसीले बताइन् ।
पुस्तकमा समावेश १० जना ज्येष्ठ नागरिकको कथाहरू मितिनी नेपालले सन् २०२२ मा एलजीबीटीआई ज्येष्ठ नागरिक सल्लाहकार समितिको सहयोगमा १०० जना ज्येष्ठ नागरिकहरूमा गरिएको सर्वेक्षणमा सहभागी भएका ज्येष्ठ नागरिकहरूमध्येबाट लिएको बताइएको छ । पुस्तक एलजीबीटीआई ज्येष्ठ नागरिक परियोजनाको एउटा भाग भएको र परियोजनालाई सेज यूएसएले सहयोग गरेको मितिनी नेपालले जनाएको छ ।
कार्यक्रममा लक्ष्मी मल्ल (दिदी सम्बोधन) ले हामी जस्तो लैङ्गिक भिन्नता भएको व्यक्तिलाई सरकारले आफ्नो खुट्टामा उभिन सक्ने अवस्था सृजना गरिदिनुपर्ने बताइन् । उनले भनिन्, ‘मलाई म लैङ्गिक भिन्नता भएको व्यक्ति हो भन्ने महशुस ४५ वर्षको उमेरमा आएर थाहा भयो । अहिले ६५ वर्षको भए । काम गर्ने सक्ने जाँगर छ । तर हामी जस्तो मान्छेलाई कसैले जागिर दिन चाँहदैन । त्यसैले राज्यले हामीलाई आत्मनिर्भर हुनसक्ने वातावरण सृजना गरिदिनुपर्छ ।’
त्यस्तै, भिमसेन भट्ट (दिदी सम्बोधन) ले आफ्नो पिडा देख्दा जिउनुको औचित्य नरहेको बताइन् । उनले भनिन्, ‘म ४५ वर्षको भए अहिले म होटेलमा काम गरिरहेको छु । तर, त्यहाँको मान्छेलाई म लैङ्गिक भिन्नता भएको व्यक्ति भन्ने थाहा छैन् । भन्न पनि सक्दिन । किनभने मैले लैङ्गिक भिन्नता भएको व्यक्ति हुँ भन्दा कामबाट निकालिदिने डर छ । त्यसैले भन्न सकेको छैन् ।’
साथै, कान्छी दिदी नाम परिवर्तनले अस्पताल जाँदा दुरव्यवहार खेप्नु परेको सुनाइन् । उनले भनिन्, ‘हामी पनि बिरामी पछौँ । अस्पताल जानु पर्ने हुन्छ तर अस्पताल जाँदा हामीले दुर्व्यवहार खेप्नु पर्ने हुन्छ । हामीलाई पनि जिउने अधिकार छ । जिउन चाहन्छौँ तर दुर्व्यवहार खेप्नुपर्दा जिउन मन लाग्दैन ।’
यसैगरी, कान्छी दिदी (नाम परिवर्तन)ले घरमा विरामी पर्दा हेरिदिने मान्छे समेत नरहेको सुनाइन् ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ३१ प्रतिशत ज्येष्ठ नागरिक विवाहबाटनै बञ्चित रहेको मितिनी नेपालको तथ्यांकले देखाएको छ। यो समुदायका ३३ प्रतिशत ज्येष्ठ नागरिक अहिले पनि एक्लै बस्दै आएका छन् ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ५ प्रतिशत ज्येष्ठनागरिक मात्रै कक्षा १२ सम्मको अध्ययन गरेका छन्। ७ प्रतिशत ज्येष्ठ नागरिकले एसईई परीक्षा पास गरेको तथ्यांकले देखाउँछ। बाँकीले विद्यालयस्तरीय पढाइ पनि पुरा गरेका छैनन्।
समुदायका २३ प्रतिशत ज्येष्ठ नागरिकले पूर्णकालीन रोजगारी गर्दै आएका छन्। १३ प्रतिशत ज्येष्ठ नागरिकले अहिले पनि यौन पेशा अपनाएका छन्। २४ प्रतिशत ज्येष्ठ नागरिक पूर्णरुपमा बेरोजगार रहेको बताइन्छ।
यी मध्ये कतिले आफूजस्तै समुदायका व्यक्तिले गरेको आर्थिक सहायताबाट जीवन गुजारा गर्दै आएका छन्। १/१ प्रतिशत ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक भत्ता र निवृत्तिभरणले आफ्नो गुजारा चलाउँदै आएका छन्। समुदायका बाँकी ५१ प्रतिशत ज्येष्ठ नागरिकले पार्ट टाइम रोजगार गर्दै आएका छन्।
यो समुदायका ७८ प्रतिशत ज्येष्ठ नागरिक अपाङ्गता नभएका छन्। १२ प्रतिशत ज्येष्ठ नागरिकमा मानसिक अशक्तता (भावनात्मक समस्या) रहेको उल्लेख गरिएको छ। त्यस्तै मितिनी नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार ५ प्रतिशत समुदायका ज्येष्ठ नागरिकमा पक्षघात तथा पुरानो ढाड दुखाईका कारण शारीरिक अपाङ्गता भएका छन्।
साथै, याे समुदायका १३ प्रतिशतले स्वास्थय बिमा गरेका छन्र । ७ प्रतिशत ज्येष्ठ नागरिकसँग भने बिमा छ या छैन थाहा नभएकाे उल्लेख गरिएकाे छ भने ८० प्रतिशतले बिमा गरेका छैन्न । त्यस्तै ३६ प्रतिशत ज्येष्ठ नागरिक यौनिक तथा लैङ्गिक अल्पसंख्यक भएकाे कारणाले सेवाबाट वञ्चित बन्नु परेकाे तथ्यांकले देखाउँछ ।
FACEBOOK COMMENTS