काठमाडौँ । उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभा आज काठमाडौँमा सुरु हुँदै छ।
होटल याक एन्ड यतीमा आयोजना हुने महासंघको साधारणसभा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ। साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ।
महासंघको विधानअनुसार उक्त साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन्।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ।
साधारणसभाले महासंघका नयाँ वरिष्ठ उपाध्यक्षलगायत पद भने चुनावमार्फत चयन गर्नेछ। त्यसका लागि भोलि (बुधबार) मतदान हुँदै छ।
साधारणसभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ।
को-को छन् उम्मेदवार ?
नयाँ वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन् । लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि राष्ट्रिय सदस्यका उम्मेदवार सुनील केसी निर्विरोध निर्वाचित भएका छन् ।
महासंघको विधानले तीन फरक व्यावसायिक क्षेत्र (जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएट) मा एक–एक जना गरी तीन जना उपाध्यक्षको व्यवस्था गरेको छ । जिल्ला–नगर वाणिज्यतर्फ सुरकृष्ण वैद्य, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
यस्तै वस्तुगत उपाध्यक्षमा शकुन्तला हिराचन, मनिषलाल प्रधान र हेमराज ढकाल उम्मेदवार छन् । एसोसिएट उपाध्यक्ष पदका लागि ज्योत्सना श्रेष्ठ र भरतराज आचार्यबीच प्रतिस्पर्धा हुनेछ ।
तीन उपाध्यक्ष पदका ८ उम्मेदवारमध्ये जिल्ला–नगरका दिनेश श्रेष्ठ, वस्तुगतका हेमराज ढकाल र एसोसिएट्सका भरत आचार्य उमेशलाल श्रेष्ठ प्यानलका हुन् ।
यस्तै अञ्जन श्रेठ प्यानलमा सुरकृष्ण श्रेष्ठ र अरुणराज सुमार्गी छन् । जिल्ला–नगर उपाध्यक्षका उम्मेदवार सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षका शकुन्तलाल हिराचन र एसोसियट्सका ज्योत्सना श्रेष्ठ रामचन्द्र संघाइ प्यानलका हुन् ।
FACEBOOK COMMENTS