पोखरा । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको काम, जिम्मेवारी र संख्यालाई लिएर अनर्गल प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट नेपाली सेनाका विषयमा अनर्गल प्रचार भइरहेको बताए ।
नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेको जिम्मेवारीका बारेमा बेला मौकामा अनर्गल गाली र प्रचारहरु गर्ने गरेको उनको आरोप छ ।
‘नेपाली सेनाले संविधानसम्मत रुपमा निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको पाइन्छ । विभिन्न सञ्चारमाध्यमबाट र सामाजिक सञ्जालबाट प्रसारित हुने यस किसिमको भ्रामक प्रचारबाजीबाट तपाईंहरु टाढै रहनुपर्छ’ उनले भने ।
नेपाली सेनाका बारेमा केही जान्न इच्छा भएमा आधिकारिक वेबसाइट र सम्बन्धित विभागमा गरेको परिपत्रबाट बुझ्न पनि उनले आग्रह गरे ।
देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका साथै विकास निर्माण, विश्व शान्ति स्थापना एवं देशमा आवश्यक परेका अन्य काममा लाग्नु नै सेनाले आफ्नो जिम्मेवारी ठानेको प्रधानसेनापति शर्माले बताउनुभयो ।
प्रधानसेनापति शर्माले लामो सैनिक जीवनका दौरान सिकेको र स्मरण गरेको अनुशासन, मूल्य, मान्यता तथा ज्ञान, सीपहरूलाई आफ्नो बसोबास गरेको समाजमा प्रयोग गर्दै सदैव जनताको सेवामा लाग्न भूपू सैनिकहरूलाई आग्रह गरे ।
पूर्वसैनिक परिवारलाई सहयोग र स्वरोजगार गर्ने उद्देश्यले स्थापना भएको सैनिक कल्याणकारी कोषको अधिकतम उपयोग गरी आयमूलक स्वरोजगारमार्फत जीवनस्तर उकास्ने लक्ष्य लिइएको प्रधानसेनापति शर्माले बताए ।
सैनिक कल्याणकारी कोषमा हाल ७३ अर्ब, १३ करोड रकम रहेको र १० लाख हिताधिकारीलाई सो रकमको ब्याजबाट विभिन्न सहुलियत प्रदान गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा भूपू सैनिकहरूबाट मार्चपास, जिल्लागतरूपमा भूपू सैनिकहरू तथा एकल महिलाहरूको मार्चपास, स्थान विशेषका झाँकीहरूको प्रदर्शन, खुकुरी ड्रिल, तेक्वान्दो, पिटी तथा मार्चपास र विभिन्न संस्कृतिहरूको प्रदर्शनी गरिएको थियो ।
FACEBOOK COMMENTS