काठमाडौं । काठमाडौंको कोटेश्वर तीनकुने चोकलाई जेनजी चोक घोषणा गर्न आइतबार गरिएको कार्यक्रममा प्रहरी हस्तक्षेप भएको छ ।
कार्यक्रममा सहभागीहरुमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको आयोजकले जनाएको छ । पक्राउ पर्नेमा आयोजक जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि)का प्रवक्ता अविन लिम्वू, अरिश तिवारी र सुनील सिंह रहेको जनाइएको छ ।
कोटेश्वर तीनकुने क्षेत्रको चोकलाई जेन्जी चोक घोषणा गर्न कार्यक्रम आयोजना गरिएको थियो । जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) ले सार्वजनिक कार्यक्रम गरी चोकको नाम जेन्जी चोक घोषणा गर्ने कार्यक्रम रहेको थियो । तर प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै राख्न खोजिएको साइनबोर्ड पनि हटाइदिएको छ ।
रगत बग्यो देशका लागि, अव रक्षा हाम्रो जिम्मेबारी भन्ने नाराका साथ चोक घोषणा गर्ने कार्यक्रम तय गरिएको थियो । घोषणासँंगै चोकमा एउटा साइनबोर्ड पनि ठड्याइएको थियो । साइनबोर्ड तीनकुने जस्तै त्रिकोणात्मक आकारमा छ ।
त्यसमा सवैभन्दा माथि नेपालको झण्डा राखिएको छ । त्यसको मुनि जेन्जी चोक (तीनकुने) लेखिएको छ । त्यसको मुनि जेन्जी आन्दोलनको क्रममा घाइते आन्दोनकारीको रगताम्य जुता (जुन आन्दोलनको क्रममा भाइरल भएको थियो) को फोटो रहेको छ । त्यसको मुनि रगत बग्यो देशका लागि, अब रक्षा हाम्रो जिम्मेबारी लेखिएको छ ।
त्यसको मुनि भने सानो साइजमा जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) भनेर लेखिएको छ । साथै एउटा चोक घोषणा गर्ने आयोजकमध्येको एकजनाको मोवाइल नम्वर पनि लेखिएको छ ।
साइनबोर्ड हाल भने छैन । कार्यक्रमस्थलमा नेपाल प्रहरी आएर त्यो बोर्ड र प्रवक्ता अविन लिम्वूलगायतलाई पक्राउ गरी लेगेको थियो । कार्यक्रमका लागि प्रशाशनबाट अनुमति प्राप्त गरेको कार्यक्रम आयोजक संस्थाका सल्लाहकार डा हरिबहादुर कार्कीले बताए । पत्र देखाउँंदै उनले भने, अनुमति लिएर कार्यक्रम गर्दा पनि प्रहरीले हस्तक्षेप गरयो ।
तर कार्यक्रम दीप प्रज्ज्वलन गर्न मात्रै अनुमति लिएको भन्दै प्रहरीले कार्यक्रममा सहभागी नेताहरुलाई पक्राउ गरेको जनाएको छ । काठमाडौंमा अहिले कुनै पनि प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गरेकाले प्रक्राउ गरेको प्रहरीले जनाएको छ । कार्यक्रमको क्रममा दीप प्रज्ज्वल भने गरिएको थियो ।
जेन्जी आन्दोलनबाट प्राप्त उपलव्धीहरुको रक्षा गर्दै उनीहरुको मागलाई निरन्तर सम्झाइराख्न सम्झनास्वरुप जेन्जी चोक घोषणा गरेको कार्यक्रममा बताइयो । जेन्जीहरुको मागहरुलाई निरन्तर झक्झकाइरहन सकोस् सवैले भनेर हामीले यो घोषणा गरेका हौं, कार्यक्रममा आयोजकहरुले भने ।
दर्जनौं शहीद जेन्जीहरुको माग पूरा गराउनु नै चोक घोषणाको मुख्य कारण रहेको उनीहरुको भनाई थियो । शहीदहरुको रगतको मूल्य चुकाउन उनीहरुले राखेको मागहरुलाई पूरा गराउनु हामी सवैको कर्तव्य भएको पनि उनीहरुले बताए ।
जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) धेरै जेन्जी समूहहरुमध्ये एउटा जेन्जी समूह हो । यसका विभिन्न जेन्जी युवाहरु समावेश छन् । यो समूहले पनि जेन्जीहरुको मागलाई पूरा गराउन आफनै हिसावले कार्यक्रमहरु चलाइरहेको छ ।
जेन्जी चोक घोषणाको क्रममा जेन्जी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जलिस्वरुप दीप प्रज्ज्वल पनि गरिएको थियो । जेन्जीका शहीद परिवार, घाइते सदस्य, जेन्जी नेताहरु र अभियन्ताहरुको बाक्लो उपस्थितिमा कार्यक्रम भएको थियो ।
कार्यक्रमको क्रममा राष्टिय समिति पनि घोषणा गरिएको थियो । जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) को आधिकारिक कार्यालय काठमाडौंको महाराजगञ्जमा रहेको छ ।
FACEBOOK COMMENTS