काठमाडौं । गोंगबु–बनियाटारस्थित काठमाडौं युरो आईबी वल्र्ड स्कूलले परिवर्तनका लागि ज्यान आहुति दिएका जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरेको छ ।
विद्यालयले जेनजी आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरूको सम्मानमा उनीहरूका सन्तानमध्ये एक जनालाई पूर्ण छात्रवृत्ति (पूर्ण छात्रवृत्ति) मा अध्ययन गर्ने अवसर दिने निर्णय गरेको हो ।
विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व र सहिदहरूको बलिदानप्रतिको सम्मानस्वरूप यस्तो घोषणा गरिएको हो ।
शिक्षा नै सशक्तिकरणको माध्यम हो । लोकतन्त्रका लागि ज्यान आहुति दिने सहिदहरूको सपना साकार पार्ने हाम्रो सानो प्रयास हो, अध्यक्ष पाण्डेले भने ।
विद्यालयले सहिद परिवारका अभिभावक वा नातेदारहरूलाई आवश्यक प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
काठमाडौं युरो आईबी वल्र्ड स्कूलले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
विद्यालयले सहिद सन्तानका लागि सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रम अन्य शैक्षिक संस्थाका लागि पनि प्रेरणादायी उदाहरण बन्ने विश्वास व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS