काठमाडौं । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ। सन् २०२३ का लागि उसको कुल गार्हस्थ्य उत्पादन ५९१ दशमलव ४८ ट्रिलियन येन (४ दशमलव २१ ट्रिलियन अमेरिकी डलर) रहेको छ।
जापानलाई जर्मनीले उछिनेको छ। अर्थात् जर्मनीको अर्थव्यवस्थाको आकारभन्दा जापानको अर्थव्यवस्था कम भएको छ। सन् २०२३ मा जर्मनीको कुल गार्हस्थ उत्पादन कुल ४ दशमलव ४६ ट्रिलियन डलर कायम भएको छ।
जापानको अर्थतन्त्रमा गत वर्षको तेस्रो र चौथो त्रैमासिक अवधिमा लगातारको संकुचन देखाएको बिहीबार सार्वजनिक सरकारी तथ्यांकले यहाँको आर्थिक मन्दीलाई संकेत गरेको छ। कमजोर खर्चका कारण अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र ० दशमलव ४ प्रतिशतको दरले खुम्चिएको तथ्यांकले देखाएको छ।
जापानमा उत्पादित वस्तु तथा सेवाको कुल मूल्य वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अघिल्लो त्रैमासिकको तुलनामा ० दशमलव १ प्रतिशतले घटेको सरकारको प्रारम्भिक तथ्यांकले देखाएको छ। क्याबिनेट कार्यालयका अनुसार दोस्रो त्रैमासिकको तुलनामा सन् २०२३ को तेस्रो त्रैमासिकमा ० दशमलव ८ प्रतिशतले कमी आएको हो।
जापानको कुल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको निजी उपभोग अक्टोबर–डिसेम्बर अवधिमा ० दशमलव २ प्रतिशतले घटेको छ, जुन लगातार नौ महिनाको गिरावट हो। व्यावसायिक लगानी पनि ० दशमलव १ प्रतिशतले खुम्चिएको छ। कुल गार्हस्थ्य उत्पादनमा नकारात्मक प्रभाव पार्ने आयात १ दशमलव ७ प्रतिशतले बढेको छ भने निर्यात २ दशमलव ६ प्रतिशतले बढेको छ।
बिहीबारको तथ्यांकले सन् २०२३ मा जापानको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) १ दशमलव ९ प्रतिशतले वृद्धि भई नाम मात्रको हिसाबले ५ दशमलव ७ प्रतिशतले वृद्धि भएको देखाएको छ।
FACEBOOK COMMENTS