राजधानीको कमलपोखरी चौबाटो अहिले कृष्ण पाउरोटी चोकका रूपमा परिचित छ । त्यसको नाता छ, सडक वारिपारि पहेंलो साइनबोर्डमा लेखिएको कृष्ण पाउरोटी भण्डारसँग । झन्डै ७६ वर्षे गरिमामय इतिहास झल्काउने कृष्ण पाउरोटीकै सेरोफेरोमा भेटिन्छन्, प्रख्यात नियात्राकार घनश्याम राजकर्णिकार ।
प्रायःजसो लेखक कविताबाट साहित्ययात्रा थालनी गर्छन् । तर घनश्यामले भने सबभन्दा पहिले एकांकी लेखे । २०२४ मा ‘गोरखापत्र’ को शनिवासरीय परिशिष्टांकमा उनको एकांकी छापे, ‘मिलनको क्षण’ । पिता कृष्णबहादुरले खोलेको कृष्ण पाउरोटी भण्डारलाई व्यावसायिक रूपमा सफलता दिलाउने सिलसिलामा देश–देशावर पुगिरहने घनश्यामले बिस्तारै नयाँ, नौलो, रोचक औ रमाइला लागेका घटनालाई पनि साहित्यकै रूपमा सजाउन थाले । घनश्यामले सुरूमा कोलकाता (भारत) पुगेको घटनावली समाए । रेलको झ्यालमा बसेर देहाती बस्तीसँग मस्ती गरेको अनि बनारस र बम्बे घुमेको । त्यसलाई पाठकले खूबै रुचाए ।
एकपटक उनी जापानमा औद्योगिक भ्रमणमा जानका निम्ति दरखास्त दिन उद्योग विभाग पुगेका थिए । त्यहाँ उपनिर्देशक थिए, माधवराज भण्डारी (नमिता–सुमिताका बाबु) । उनले घनश्यामलाई भने, जापन होइन जर्मनीमा पठाउँछु । घनश्यामले भने– ‘हुन्छ हजुर’ । माधवराजले भने, ‘जर्मनीबाट एक वर्षे प्रोफेसनल एजुकेसन एन्ड एड्भान्स ट्रेनिङका लागि दुइटा सिट आएको छ । एउटा सोल्टी होटललाई पक्का भइसक्यो, अर्को तपाईंलाई दिन्छु ।’ घनश्यामले भने –‘हुन्छ हजुर’ । यो मेरो लागि गोल्डेन चान्स हो ‘हजुर’ भने । यसरी उनले ‘हजुर हजुर’ भन्दै काम पट्ट्याए । भर्खर बिहे भएकी श्रीमती अनि आठ महिने छोरीलाई छाडेर २०२९ सालमा जर्मनी पुगे । बेलायत, इटाली, फ्रान्स, हल्याण्ड, बेल्जियम, डेनमार्क, अष्ट्रिया, स्पेनलगायत सारा युरोप घुमे । फर्केर आई आफू घुमेका ठाउँको नियात्रा लेख्न थाले ।
कृष्ण पाउरोटीको काममा बालाजुस्थित त्यसबेलाको नामुद जोरगणेश प्रेस पुगे । लेखक/समालोचक माधवलाल कर्माचार्य थिए त्यहाँका म्यानेजर । उनको त्यहाँ माधवलालसँग भेटघाट र चिनापर्चि भयो । उनलाई माधवलालले सम्झाए, ‘घनश्याम, व्यवसायमा लागे पनि साहित्यमा तिम्रो रुचि देखेर खुसी लाग्यो । तिमीले विविध विधामा कलम चलाएका रहेछौ । तिमी कवि, कथाकार, निबन्धकार, उपन्यासकार, नियात्राकार के बन्ने ? एउटा विधा छनोट गर । तिम्रो नियात्रा लेखन राम्रो छ त्यसैले यसैमा लाग माधवलालले घनश्यामलाई भने ।’
त्यही बेला घनश्यामले अनौपचारिक दृष्टान्त पनि पाए । बालकृष्ण सम नाटककारका रूपमा प्रसिद्ध थिए । उनकै छोरा जनार्दन सम कवि, गायक, गीतकार, नाटककार, अभिनेता सबै थिए तर कुनै पनि विधामा उचाइ लिएनन् । कसैले लेखेको उनले सम्झे, ‘जनार्दन सम सबै हुन् तर केही पनि होइनन् ।’ त्यसलाई मनन गरेर घनश्याम यात्रालेखककै एकल चिनारीमा अडिए । त्यसपछि घनश्यामले खुरुखुरु नियात्राहरूमात्र लेख्न थाले ।
विदेशको यात्रा, स्वदेशको सम्झना
लेख्तालेख्तै २०३७ सालमा घनश्यामको नियात्रा पुस्तक निस्कियो, ‘विदेशको यात्रा स्वदेशको सम्झना’ । त्यो पुस्तक ‘बेस्ट सेलर’ भयो । अहिलेसम्म ‘विदेशको यात्रा स्वदेशको सम्झना’ को छैटौं संस्करण छापिएको छ । अंग्रेजी, हिन्दी र नेवारी भाषामा अनुवाद भएका छन् । उक्त पुस्तक आजसम्म निरन्तर छापिनु र चर्चित हुनुको अर्को कारण के हो भने, त्यसमा यौनको मिठास पनि छ । त्यो पुस्तक निकाल्ने बेला उनले माधवलाललाई सोधेछन्, ‘मलाई सेक्सका कुरा पनि राख्न मन छ । सेक्सको कुरा राखौं कि नराखौं दाइ ?’ माधवलालले उत्साह दिए, ‘किन नराख्ने ? राख राख ।’
घनश्याम भन्छन्, ‘धेरैजसो नियात्रा लेखक आफ्ना कमजोरी लुकाउँछन् । तर मैले लुकाइनँ । अंग्रेजीमा भनाइ छ– ‘राइटिङ डिस्क्लोजेज विक्नेस अफ ए म्यान’ । ‘मैले आफ्ना कमीकमजोरी पनि लेखें, यौनका कुरा पनि निर्धक्क समेटें ।’
‘यात्रा अमेरिकाको माया नेपालको’, ‘यात्राको लहरी हिउँफूलकी रानी’, ‘देश प्रदेशको भ्रमण’, ‘बौद्ध तीर्थयात्रा ः नालन्दादेखि लुम्बिनीसम्म’, ‘घनश्याम राजकर्णिकारका प्रतिनिधि नियात्रा’, बालनियात्रा ‘घामै प्यारो, आमै प्यारो’ लगायत नियात्रा पुस्तकहरू प्रकाशित छन् घनश्यामका । तर लेखक राजकर्णिकारले अझै पनि माधवलाललाई भुलेका छैनन् । उनी कृतज्ञ सुनिन्छन्, ‘म नियात्राकार हुनुको श्रेय माधवलाल दाइलाई नै दिन्छु । उनले दामका लागि कहिल्यै पुस्तक छापेनन् । घनश्यामको मिसन रह्यो, नाम, नाम, बस् नाम । उनी लुकाउँदैनन्, ‘डिकुरा प्रकाशनले लेखकस्वस्वरूप सय कपी दिएको छ । त्यही हो मेरो कमाइ । पैसा कमाउनका लागि त मेरो व्यवसाय छँदै छ ।’ अंग्रेजी कहावत उनलाई उचित लाग्छ, ‘लिटरेचर इज अ गुड स्टाफ, बट अ ब्याड क्रन्च’ ।
यस दौरान रानी ऐश्वर्य समाजकल्याण परिषद्मा हुँदा उनलाई सदस्य बन्ने प्रस्ताव आएको थियो । तर उनी गएनन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ हुने प्रस्ताव पनि स्वीकार गरेनन् । आफूलाई लेखकबाहेकको अतिरिक्त परिचय नचाहिएको उनको जिकिर छ । जतिबेला घनश्याम राजकर्णिकारले नियात्रा विधालाई आफ्नो कपको कफी बनाए, त्यतिबेला यो बिलकुल कुमारी विधा थियो । जनकलाल शर्मा, देवीचन्द्र श्रेष्ठ, रमेश विकल, तारानाथ शर्मा, यादव खरेल आदि लेखकले यसलाई भर्खर भर्खर अघि बढाएका थिए । कवि रोबर्ट फ्रस्टले भनेजस्तै उनले धेरैजना हिँडेको बाटो पछ्याएनन् । सकेसम्म आफ्नै बाटो हिँड्ने जमर्को गरे । उनी थप्छन्, ‘धेरै लेखक कवि हुने बाटोमा लागे, अरुले त्यति ध्यान नदिएको विधामा लागेर मैले वाहवाही पाएँ । यही नै मेरो साहित्यिक जीवनको उपलब्धि भयो ।’
यी नियात्राकारको बडप्पन भने पनि भयो, उनलाई अरुका भन्दा आफ्नै नियात्रा मन पर्छन् । अरुका नियात्रा उनलाई त्यति चाखिलो लाग्दैनन् । लम्बेतान विवरणले उनलाई पटक्कै आकर्षित गर्दैनन् । त्यस्ता नियात्रा उपन्यास पढेजस्तो लाग्छ । उनी थप्छन्, ‘मलाई मनपर्ने नियात्राकार म आफैं हुँ ।’
आफूले यात्रा गरेका ठाउँका मानिसमध्ये उनले सबैभन्दा सुन्दर व्यवहार जापानीबाट पाए । उनी भन्छन्, ‘जापानीहरू साह्रै भद्र, सभ्य र सौम्य लागे । नरम मिजासका पनि ।’ उनलाई जान मन लागेको एउटा मात्र देश थियो, चीन । त्यो पनि माओकालीन समाज अनि ग्रेटवाल हेर्न मन थियो उनलाई । तर अब त्यो भेटिँदैन भन्ने पनि उनलाई थाहा नभएको होइन । तत्कालीन शाही नेपाल वायुसेवा निगमको अधिकृतले भनेछन्, ‘त्यो घनश्याम एकचोटि गएको ठाउँमा कस्तरी लेख्छ, मैले चाहिं बीसौं चोटि जाँदा पनि लेख्न सकेको छैन ।’ अहिले उमेर र स्वास्थ्यको कारणले घनश्याम निकै थोरै यात्रा गर्छन् । पहिले जस्तो आफूमा जोस र होस नहुँदा नियात्रा लेख्ने उत्सुकता र उत्साह निकै कम छ आफूमा’ उनी खुलस्त पार्छन् ।
स्वदेशभन्दा विदेशकै यात्रावृत्तान्त
घनश्यामले विदेशको तुलनामा नेपालबारे कमै लेखेका छन् । त्यसको प्रमुख कारण नेपाल घुमघाम कम हुनु पनि हो । उनले लेखेका औद्योगिक एवं पर्यटकीय ठाउँ विराटनगर, वीरगञ्ज, लुम्बिनी, पोखरा, नगरकोट आदि मुस्किलले आधा दर्जन पुग्छन् । ‘म २२–२३ देश घुमेको छु । त्यसको तुलनामा नेपालका रस्तीबस्ती कमै पुगेको छु । गोरखापत्र दैनिकमा सडक दुर्घटनामा मानिस मरेको खबर पढ्दा म भित्रभित्रै डराउँथें । थोत्रो गाडी अनि झूर व्यवस्थापन । मैले होच्याएर भनेको होइन तर गोरखापत्रको खबरले नेपालका गाउँठाउँ घुम्ने रुचि पनि भएन, हौसला पनि भएन,’ उनी भन्छन् ।
घनश्यामका ‘सम्झनाको लहरमा लहरिंदै जाँदा’, ‘पवित्र सम्झना आमाको’ लगायतका संस्मरण पुस्तक पनि प्रकाशित छन् । आमाको शोककाव्य त थुप्रै लेखकले लेखेका छन् । उनले जसरी आमाको बारेमा सिंगो संस्मरण सम्भवतः कमैले लेखेका छन् वा लेखेका नै छैनन् । यसबाहेक बुद्ध दर्शनमा आधारित पुस्तक पनि उनले लेखेका छन् । त्यसमध्ये एउटा हो, ‘बुद्ध ज्योतिका केही रश्मि’ ।
‘पहिले म बुद्धलाई देवता मात्र मान्थें । फूल र पैसा चढाउँथें अनि नमस्ते गर्थें । २० मिनेटको भावातीत ध्यान गर्थें । मजस्तो व्यस्त–बिजी मानिसका लागि यही ठीक छ भन्ने लाग्थ्यो,’ घनश्याम थप्छन्, ‘३० वर्ष अगाडि विपश्यना गएपछि मेरो विचारमा आमूल परिवर्तन आयो । मैले बुद्धलाई आफ्नो गुरु र पथप्रदर्शक मानें । बुद्ध त हामीजस्तै मानिस रहेछन् । सानोभन्दा सानो मानिस हुन जान्ने उहाँ महामना । ‘बुद्ध हिमालयजस्तो विशाल र अतुलनीय महामना हुनुहुन्छ । उहाँजस्तो मानिस अहिलेसम्म यस धर्तीमा कोही जन्मिएका नै छैनन् । हिमटाकुरा त विश्वमा धेरै छन् तर हिमालयजस्तो कुनै छैन ।’
मिठाईवालादेखि कृष्ण पाउरोटीसम्म
घनश्याम राजकर्णिकारको जीवनकै अभिन्न पाटो हो, कृष्ण पाउरोटी । त्यसको साइनो मल्लकालमा पाटनको राजघरानालाई रोटी पकाउन भारतको कन्नौज (उत्तर प्रदेश) बाट झिकाइएका दुई ब्राह्मणसँग जोडिएको छ । उनीहरूले नै राजदरबारका सेल, मालपुवा, लट्टेपा, ग्वारामरी, चटामरी, बारा आदि परम्परागत रोटीको मेनु बदलिदिए । मल्ल राजाले नै ब्राह्मणद्वयलाई राजकर्णिकार थर दिए । उनीहरू आएर बसेको हस्तिनागल विहार (हौगल बहाल) नै घनश्यामको पुर्ख्यौली थातथलो हो ।
उनका जिजुबाजे गजराजलाई राणा प्रधानमन्त्री जंगबहादुरले थापाथली दरबारमा रोटी पकाउने (हलुवाई) को काम दिएका थिए । जंगबहादुरको दरबारमा हुर्किरहेका मूल्याहा भतिजा वीरशमशेर केटाकेटीमा गजराजकै पसलमा सित्तैंमा खाँदा रहेछन् । पछि जवानीमा आफ्नै काका रणोद्दीपको हत्या गरेर श्री ३ भएपछि वीरशमशेरले गजराजका छोरा एवं आफ्ना बालसखा हिरामान सिंहलाई रोटी पकाउने ठेक्का दिए । उनको मुकाम भयो, अहिलेको तीनधारा पाठशाला ।
कालान्तरमा वीरशमशेरकी मठ्या (नेवार्नी) रानीको छोरा तेजशमशेरका पनि सेवक भए, हिरामान । उनका छोरा इन्दुशमशेरको सेवक भए घनश्यामका पिता कृष्णबहादुर । २००० सालतिर जुद्धशमशेरले मठ्या रानीतर्फका सबै छोराहरूलाई बडाहाकिम बनाएर काठमाडौंबाहिर धपाए ।
इलामका बडाहाकिम इन्दुशमशेरले जंगबहादुरकालीन लखनउ लुटका हिरा, मोती, जवाहिरात चारवटा कन्तुरमा लगेका थिए । हराएको एउटा कन्तुर फेला पारिदिएबापत उनले कृष्णबहादुरलाई बारा–पर्सामा ५० बिघा जग्गा बक्सिस दिए । पछि त्यही जग्गा उनले आफ्नै ज्वाइँ टपेन्द्रबहादुर शाहलाई सुम्पिए । यस घटनाबाट विरक्तिएका कृष्णबहादुर ‘अब कन्दमूलहरूको सेवा नगर्ने’ भनेर कोलकातातिर हान्निए ।
१० दिन बित्दा पनि नयाँ सीप सिक्ने अवसर नपाएपछि उनले घर फर्कने विचारले काली मन्दिर दर्शन गर्न गए । त्यस क्रममा एक बालिकाको उद्धार गरे । त्यसबाट खुसी भएका बंगाली बाबु संयोगवश कोलकाताको प्रसिद्ध ‘फर्पोज’ बेकरीका हेड मिस्त्री रहेछन् । उनले नै गाँसबास दिए । अंग्रेजी रोटी पकाउन सिकाए । त्यहाँबाट फर्केर कृष्णबहादुरले २००५ साउन १० मा कमलपोखरी चोकमा कृष्ण पाउरोटी सुरू गरेका थिए । जनसाधारणलाई पहिलोपटक पाउरोटीको स्वाद चखाए उनले । त्यतिबेला खुट्टाले मुछेको वा जाँड मिसाएको हल्लाका कारण साइनबोर्ड नै राख्नुपर्यो, ‘चोखो, ताजा र पवित्र पाउरोटी ।’ कृष्णबहादुरका चार छोरामध्ये कान्छा घनश्याम बुबाले पाउरोटी उद्योग स्थापना गरेदेखि बेलायतबाट पिठो मुछ्ने मेसिन झिकाएको समयसम्मका साक्षी छन् । अर्थशास्त्रमा स्नातकोत्तर गरेका घनश्यामका साथी कोही राजदूत भए, कोही न्यायाधीश भए, कोही मन्त्री हुने लाइनमा पुगे । तर उनले बाबुको पाउरोटी उद्योगभन्दा पर केही सोचेनन् ।
‘सेल्फ मेड म्यान’
घनश्याम राजकर्णिकार आफूलाई ‘सेल्फ मेड म्यान’ भन्न रुचाउँछन् । बाहिरबाट ससर्ती हेर्दा उनको जीवनमा हाइसन्चो मात्रै होला भन्ने लाग्न सक्छ । तर उनको आठ दशक लामो जीवनमा सुखभन्दा दुःखका लस्कर ज्यादा छन् । उनले पढ्नका लागि घरमै असामान्य संघर्ष गर्नुपर्यो । जेठा, माइला दाइले नपढेपछि पिताले पढाउनै चाहेनन् । पिता इलाम नगएका भए सम्भवतः उनले नन्दी निम्नमाध्यमिक विद्यालयमा पढ्न पाउने थिएनन् ।
पाँच कक्षा पढ्दापढ्दै दिदीले भागी विवाह गरेपछि पिताले झन्डै स्कूल छुटाइदिए । मान्यजनको भनसुनपछि एसएलसीसम्म गर्न पाए । त्रिचन्द्र कलेजमा आईए पढ्दापढ्दै बुबा बितिहाले । उनले कलेज पढेको दाजुहरूले नै मन पराएनन् । धन्न आमाले आँट, ढाडस र साहस दिइरहिन् ।
‘दाइहरूले मेरो पढाइलाई स्वीकार नै गरेनन् । जर्मनीको नयाँ मेसिन किन्दा उनले ३ लाख ७० हजार फाइदा पुर्याएपछि मात्र दुईजना दाजुहरूले मानेका हुन्,’ उनी सुनाउँछन्, ‘सस्तोमा राम्रो मेसिन ल्याउँदा पनि माइला दाइले विद्रोह गरेर व्यवसाय नै छाडिदिए । उनले आफ्नै भतिजाहरूबाट धेरै हानि नोक्सानी सहनुपर्यो, धोती न टोपी पारेको थियो उनलाई । अझै पनि दुईटा मुद्दा अदालतमा विचाराधीन छन् ।
उनकी आमाको अन्तिम धोको थियो, कान्छी बुहारीको मुख हेर्ने । तर एमए नपढीकन बिहे नगर्ने संकल्प थियो उनको । २०२६ मा आमा बितिहालिन् । दाजुले रोलक्रममा रहेका आफू र बहिनीको बिहे नगरी आफ्नै छोरीको बिहे गरेपछि घनश्याम त्यसैलाई खेद मानेर बस्ने पक्षमा थिएनन् । कैयौं अमिल्दा जोडी अस्वीकार गरेका उनले पाटनकी शान्ता केशरीलाई पहिलो झलकमै मन पराए । लगातार पञ्चकन्याका पिता भए घनश्याम । ‘ठूली छोरी आफ्नै काममा छिन् । माइली छोरी अमेरिकामा छिन् । तीन छोरीले व्यवसाय सम्हालिरहेका छन्,’ उनी हर्षित मुद्रामा भन्छन् ।
कृष्ण पाउरोटी चोकका दुईवटा साइनबोर्डबाट थाहा हुन्छ, पुर्ख्यौली व्यवसाय सगोलमा छैन । आफ्नै हाडनाताका भतिजाहरूबाट भएका छल–कपट र हानि नोक्सानी सहेर आज कृष्ण पाउरोटी भण्डारको विरासत १२ वर्षयता घनश्यामकै मातहत छ । राजधानीमा यसका छवटा चेन छन् ।
‘आजको दिनमा कृष्ण पाउरोटीको नाम ठूलो छ तर नामअनुसार पैसा छैन । पाउरोटी उद्योगका यी पायोनियर भन्छन्, ‘गर्व गर्ने एउटै कुरा मैले पिताजीको बिँडो थामिरहेँ र उहाँको सालिक राखेको छु । पिताजीको सालिकनिर मानिसहरू बाटोमा हिँड्दाहिँड्दै उभिन्छन्, हेर्छन्, नमस्ते गर्छन् र कुनै कुनैले पैसा चढाएर जान्छन् ।’
इमानदार बयान
यस्तो लाग्छ, घनश्याम राजकर्णिकारको जिन्दगी खुला किताबजस्तै हो । उनले आफ्नो जिन्दगीका उतारचढाव किताबमै खुलस्त राखिदिएका छन् । पाठकले मात्र होइन, स्वनामधन्य लेखक मदनमणि दीक्षितले समेत उनको इमानदार बयानको प्रशंसा गरे । असल लेखकको गुण देखे ।
जीवनमा गल्ती सबैले गर्छन् । लुकाउनु, नलुकाउनु आफ्नै मर्जी हो । नक्कली कुरा नलेख्दा घनश्याम प्रताडित पनि भए । उनी स्वीकार्छन्, ‘मैले इमानदारीका कारण धेरै हानि बेहोरेको छु । मलाई त्यो पनि स्वीकार्य छ ।’ घनश्यामको जीवन सूत्र हो, ‘स्याटिस्फाइड लाइफ इज बेटर द्यान सक्सेसफुल लाइफ’ । घनश्यामका तीन दाजुहरू बितिसके । उनलाई घरीघरी आफू पनि जीवनको अन्तिम अवस्थातिर छु भन्ने लागिरहन्छ । सेन्टिमेन्टल गीतका सोखिन यी धुरन्धर नियात्राकार भन्छन्, ‘पत्रपत्रिकामा आफ्नै उमेरका वा आफूभन्दा कनिष्ठहरूको श्रद्धाञ्जलि वा समवेदना छापिएको देख्दा लाग्छ, मेरो मृत्यु पनि नजिकै आयो ।’
FACEBOOK COMMENTS