नेपालमा राजादेखि रैतीसम्मलाई सबैभन्दा पहिला पाउरोटीको स्वाद चखाउने ‘कृष्ण पाउरोटी भण्डार’ पछिल्लो समय तुलनात्मक रूपमा केही सिथिल बनेको थियो । बेला–बेलामा पारिवारिक झमेलाका कारण प्रभावित बन्ने गरेको कम्पनीलाई पछिल्लो समय सरासर अघि बढाउन किन सकिरहेको छैन, के–के छन् भविष्यका योजना र विगतका भोगाई ? यी विषयहरूमा केन्द्रित रहेर कृष्ण पाउरोटी भण्डारका अध्यक्ष घनश्याम राजकर्णिकारसँग कर्पोरेट खबरका साइराम उपरकोटीले विषेष सम्वाद गरेका छन् । प्रस्तुत छ, राजकर्णिकारसँग गरिएको कुराकानीको सम्पादित अंश–
करिब आठ दशक पुरानो कृष्ण पाउरोटीको सुरूवातबारे केही बताइदिनुहोस् न ?
कृष्ण पाउरोटी स्थापनाको लामो इतिहास छ । त्यसलाई संक्षेपमा भन्नुपर्दा वीर शमसेर मेरो हजुरबुबा हिरामान सिंहको खेल्ने साथी हुनुहुन्थ्यो । वीर शमसेर विक्रम सम्वत १९४२ मा श्री ३ महाराज बन्नुभयो । मेरो हजुरबुबाको मिल्ने साथी हुनुभएकाले वीर शमसेरले उहाँलाई निजी हल्वाईमा नियुक्त गर्नुभयो । हाम्रो पेसा नै हल्वाई (मिठाई रोटी बनाउने) भएकाले यो काम गर्नुभयो । तर, वीर शमसेर धेरै बाँच्नुभएन ।
त्यसपछि उहाँका नेवार्नी रानीपट्टीका छोरा तेज शमसेर (लाल दरबारका मालिक)कोमा हजुरबुबा कार्यरत हुनुभयो । समय बित्दै जाँदा तेज शमसेरका छोरा इन्दु शमसेरकहाँ मेरो बुबाले काम गर्नुभयो । नेवार्नी रानीबाट जन्मनुभएकाले आफूहरूलाई पछि गाह्रो पर्ने आँकलन गरी जुद्ध शमसेरले विक्रम सम्वत् २००० सालतिर ‘सी’ क्लासका राणाहरूलाई काठमाडौं बाहिर पठाइदिनुभयो । त्यसैक्रममा इन्दु शमसेरलाई बडा हाकिम बनाएर इलाम पठाइयो । इन्दु शमसेर इलाम जाने क्रममा हिरा मोतीको एउटा कन्टुर हराउनुभयो । हराएको हिरा मोती भएको त्यो कन्टुर मेरो बुबा कृष्ण राजकर्णिकारले अथक प्रयास गरी खोजतलास गरेर भेट्टाउनुभयो र उहाँलाई दिनुभयो । त्यो कामबाट मालिक खुसी हुनुभएर मेरो बुबालाई बारा र पर्साको ५० बिगा जग्गा बक्सिस दिनुभयो । तर, बुबालाई जग्गा दिएको केही महिनापछि नै इन्दु शमसेरले त्यो जग्गा आफ्नो ठकुरी ज्वाइँ टपेन्द्रबहादुर शाहलाई कागज गरेर पास गरिदिनुभयो । त्यो घटनाबाट मेरो बुबा निकै मर्माहत हुनुभयो ।
इन्दु शमसेरको व्यवहारबाट रिसाउनुभएका मेरो बुबाले त्यसपछि मालिकको सेवा गर्दिनँ भनेर केही नयाँ सिक्न र काम गर्न भनेर इलामबाटै कलकत्ता झर्नुभयो । तर, त्यहाँ कोही पनि चिनजानको मान्छे नभएका कारण उहाँले आठ–दश दिनसम्म पनि केही काम पाउने र सिक्ने अवस्था रहेन । आफूसँग भएको पैसा सकिँदै गएको र कुनै काम नपाएको अवस्थाकाबीच त्यहाँ उहाँ फुटपाथमा रहेका माग्नेहरूलाई हेर्दै आफू पनि यस्तै हुने त होइन भनेर निक्कै चिन्तित बन्नुभएको थियो । कुनै काम नपाएपछि उहाँले तत्कालै नेपाल फर्किने विचार गर्नुभयो । फर्किनुअघि कलकत्ता आएको बेला कालिघाटस्थित कालि मन्दिर दर्शन गरेर जान्छु भन्ने विचारस्वरूप बुबा त्यो मन्दिरमा पुग्नुभयो । सधैं भीड भइरहने त्यो मन्दिरमा उहाँ पुग्दा भीडको बीचमा एक जना आठ/दश वर्षकी बालिका ‘बाबुजी’ भन्दै रोइरहेको देख्नुभयो । ति बालिका आफ्नो बुबासँगबाट हराइरहेकी थिइन् ।
भीडमा च्यापिएर बालिकाको ज्यानै जानसक्ने अवस्थालाई दृष्टिगत गरी बुबाले उनलाई त्यहाँबाट निकाल्नुभयो । त्यसबेला बालिकाको बुबाले त्यो सबै दृश्य देख्नुभएको रहेछ । पछि मेरो बुबाको बारेमा उनले निक्कै सोधखोज गरे । बुबाले आफ्नोबारे र आफू कलकत्ता आउनुको उद्देश्यबारे ति बालिकाको बुबालाई सुनाउनुभयो । त्यसपछि ती बालिकाको बुबाले मेरो बुबालाई सँगै लगेर आफू काम गर्ने बेकरी पसल (फर्पोज)मा पाउरोटी (अङ्ग्रेजी रोटी) बनाउन सिकाउनुभयो । त्यहीँ बस्ने र खानेसम्मको व्यवस्था पनि उहाँले नै मिलाइदिनुभयो । १०–१२ दिनमा उहाँले त्यो काम सिक्नुभयो र २००३ सालमा नेपाल फर्किनुभएका मेरो पिताजीले २००५ साल साउन १० गते आफ्नै नामबाट कृष्ण पाउरोटी भण्डार स्थापना गर्नुभयो ।
तपाइँको बुबाले कृष्ण पाउरोटी स्थापना गर्दा लगानी कसरी जुटाउनुभएको रहेछ ?
मेरो पिताजीले कलकत्ताबाट केवल काम सिकेर आउनुभएको थियो, पैसा कमाउनुभएको थिएन । त्यतिबेला हाम्रो आर्थिक अवस्था पनि नाजुक नै थियो । हामी चार जना दाजुभाई र दुई जना दिदीबहिनी थियौँ । त्यसताका कुनैबेला हामीलाई एक छाक खान पनि धौधौ भएको कुरा मेरी आमाले सुनाउनुहुन्थ्यो । तर, मेरो बुबालाई पाउरोटी बनाउन धेरै इच्छा थियो । बुबाको त्यो इच्छा पूरा गर्न मेरी आमाले आफ्नो माइतीबाट ल्याउनुभएको गरगहना बुबालाई दिनुभयो । बुबाले त्यसबेलाका रकमी (झ्याउँकिरी सरदार) सँग गएर सबै गरगहना बन्धकी राखेर दुई हजार ६०० रूपैयाँ ऋण निकाल्नुभयो र १५–१६ सय रूपैयाँ लगानीमा कृष्ण पाउरोटी भण्डार सुरू गर्नुभएको थियो ।
धेरैजसो मान्छेलाई पाउरोटी भन्नसाथ पाउ (खुट्टा) बाट बनाउने भन्ने परेको छ । के वास्तविकता पनि त्यही हो ?
हो यो सही कुरा हो । रोटी बनाउन ५–७ मिनेट पीठो मुछे पुग्छ, तर पाउरोटीका लागि ३० मिनेटदेखि ४५ मिनेटसम्म मुछ्नुपर्छ । त्यसैले भारतमा रबरको बुट लगाएर पाउरोटी बनाउने पीठो मुछ्ने गरिन्थ्यो । त्यसैकारण यो रोटीको नाम पनि पाउरोटी राखिएको हो ।
त्यसो भए त मान्छेहरूले यो पाउरोटी खान घिन पनि मान्थे होलान् नि ?
हो, धेरैले पाउरोटी खान नै हुँदैन भन्थे । विशेषगरी कट्टरपन्थी ब्राह्मणहरूले खुट्टाले मुछेको अशुद्ध पाउरोटी खान हुँदैन भन्थे । तर, जतिबेला नेपालमा हामीले पाउरोटी बनाउन सुरू गर्यौँ त्यसबेला हातैले मुछ्न लगाएर बनाउने गरेका थियौँ । यद्यपि, केही मानिसहरूले नराम्रो हल्ला चलाएपछि मेरो बुबाले हाम्रो आफ्नै चिया पसलको छेउमा हातैले पीठो मुछ्न लगाई पाउरोटी बनाउने गर्नुभयो । त्यो काम चिया पसलमा आउनेहरूले सहजै देख्न सक्नुहुन्थ्यो । त्यसपछि चिया पसलमा आउनेहरूले नै बजारको नराम्रो हल्लाको खण्डन गर्नुभयो । मैले देखेको हातैले मुछेको हो भनेर उहाँहरूले नै भन्न थाल्नुभएपछि त्यो भ्रम विस्तारै चिरिँदै गयो । मानौँ ग्राहक नै हाम्रा लागि विज्ञापनदाता बनिदिनुभयो । तैपनि हल्ला पूर्णरूपमा बन्द भएन । पछि मेरो बुबाले पाउरोटी बनाउन नै छोड्ने र आफ्नै पेशा मिठाई–रोटी नै बनाउने मनस्थिति बनाउनुभएको थियो ।
तर, त्यो बेला नेपाली कांग्रेसका नेता बीपी कोईराला पनि चिया पिउन हाम्रो चियापसलमा आउनुहुन्थ्यो । त्यसैबेला बीपीले मेरो बुबालाई पाउरोटी बनाउने काममा मेरो साथ छ, बनाउन नछोड्नू भन्नुभएको थियो रे । ‘कृष्ण दाइ तपाइँले गर्नुभएको यो काम राम्रो छ । नछोड्नुहोस् है ! हामी प्रजातन्त्र ल्याउन लागि परेका छौँ, प्रजातन्त्र आइहाल्छ । त्यसपछि इन्डियाबाट मान्छे आउने–जाने भइहाल्छ । यहाँबाट पनि मान्छे जान्छन् र पाउरोटीको प्रचलन देख्छन् अनि यहाँ पनि राम्रो हुन्छ’ भन्नुहुँदै बीपीले बुबालाई ढाडस दिनुभयो । त्यसपछि बुबाले पाउरोटी बनाउन फेरि निरन्तरता दिनुभयो । सुरूमा १०–१२ वटा बनाएर सुरू गरिएको थियो । पछि त्यसलाई बढाउँदै लगिएको हो ।
बजारीकरण कसरी गरिन्थ्यो त्यसबेला ?
उत्पादन बढेसँगै मेरो बुबाले पसलभन्दा बाहिर पनि पाउरोटी बेच्नुपर्छ भनेर पाउरोटी कारखानामा काम गर्नुहुने एक जना ठकुरी बाबुसाहेबलाई टिनको बाकसमा पाउरोटी राखेर मान्छेको भीड हुने असन क्षेत्रमा पठाउनुहुन्थ्यो । विभिन्न जनावरहरूको आवाज निकाल्न सिपालु ठकुरी बाबुसाहेबले आफ्नो कला देखाएर धेरै मान्छे बटुल्ने र पाउरोटी बेच्ने गर्नुहुन्थ्यो । त्यसपछि खर्पन र साइकलमा राखेर पनि पाउरोटी बेचिएको थियो । त्यस्तै, राजा महेन्द्रले हामीकहाँ पाउरोटी किन्न पठाउनुहुन्थ्यो । त्यस कुरालाई हामीले राजाले खाने पाउरोटी भनेर पनि विज्ञापन गर्यौँ र राजाले खाने पाउरोटी भन्दै सबै किन्न आउन थाले ।
कृष्ण पाउरोटी भण्डारको विस्तार कसरी गर्नुभयो, चुनौतीहरू के–के थिए ?
मेरो बुबाले २०१५ सालमा बेलायतबाट पाउरोटीका लागि पीठो मुछ्ने सानो मेशिन झिकाउनुभयो । त्यस्तै २०२२ सालमा हामीले २ लाख ५० हजार रूपैयाँ बचाएका थियौँ, त्यसले बेलायतबाट थप ओभन, मेक्सिन मेशिन र बनडिभाइडर मगायौँ । व्यापार राम्रो भएको र एकाधिकार समेत भएकाले त्यसबेला हामीले कुनै पनि चुनौतीको सामना गर्न परेको थिएन । ०२८/२९ सालमा हामीले तत्कालीन एनआईडीसी बैंकबाट १८ लाख रुपैयाँ ऋण लिएर जर्मनबाट १४ मिटर लामो अत्याधुनिक चुलो र अरु मेशिनहरू मगायौँ । त्यो बेलासम्म साना–साना पाउरोटी पसल त सञ्चालनमा आएका थिए तर, चुनौती थिएन ।
अनि तपाइँहरू (छोरा पुस्ता) ले चाहिँ कहिलेदेखि कृष्ण पाउरोटीको काम सम्हाल्नुभयो ?
बिक्रम सम्वत् २०१६ सालमा बुबा स्वर्गबास हुनुभएपछि हामी चार जना दाजुभाइले कृष्ण पाउरोटीको व्यवसाय सम्हालेका हौँ । २०३८ सालमा मेरो ठूलो दाजुको मृत्यु भयो । अनि त्यो बेला दाजुको हकवाला छोरा आउन थाले, तर काम गर्न थालेनन् । त्यो बेला म र मेरो साईंलो दाइ दुई जनाले काम गर्न थाल्यौँ । अनि ठूलो दाजुको हकवालाले ५–६ वर्ष काम गरेपछि हक माग्न थाले । हामीले १५–१६ वर्ष मेहनत गरेर कमाएको पैसा सबै उसैलाई दिनपर्ने भयो । र, हामीले भाग दियौँ र साईंलो दाइ र म भएर फेरि सुरूवाती चरणबाट अगाडि बढ्यौँ ।
२०५३ सालमा साईंलो दाइको पनि मृत्यु भयो । उहाँका छोराले हक त मागेनन् तर कृष्ण पाउरोटीलाई दुर्गती गर्न थाले । त्यसपछि कृष्ण पाउरोटी फेरि खस्किन थाल्यो । ऋणको बिलहरू चाङ लाग्न थाल्यो र पछि म एक्लैले फेरि जिरोबाट नै सुरूवात गर्नुपर्ने अवस्था सृजना भयो ।
अहिले चाहिँ कृष्ण पाउरोटी कसरी चलिरहेको छ ?
अहिले हामीले जमाना अनुसार चल्न थालेका छौँ । हामी पाउरोटीमा मात्र बसेको भए त्यति सफल हुने थिएनौँ होला त्यसैले अहिले हामी नयाँ युगमा नयाँ टेक्नोलोजीसँग चल्न थालेका छौँ ।
तर, पछिल्लो अवस्था हेर्ने हो भने कृष्ण पाउरोटी ब्रान्डमात्र छ, अगाडि बढेको छैन भनिन्छ नि ?
आफू पनि बाँच्नु पर्छ र अरुलाई पनि बाँच्न दिनुपर्छ भन्ने धारणा हाम्रो छ । यसैबाट देश विकासतिर लाग्ने गर्छ । सबै ठाउँमा हामी आफै मात्र लाग्नुपर्छ भन्ने छैन् । हाम्रो ब्रान्ड राम्रो छ मान्छेले कृष्ण पाउरोटी नै चुज गर्छन् । यो हाम्रा लागि ठूलो गौरवको कुरा हो । हामी सबै ठाउँमा हुनुपर्छ सबै हाम्रै हुनु पर्छ भन्ने हाम्रो सोच छैन । हामी चलिरहेका छौँ र अरु पनि चलेको छ । हामी हाम्रो ब्रान्ड जोगाएर राख्छौँ यसलाई हराउन दिँदैनौँ । हामी हाम्रो फेञ्चाइज खोल्दै छौँ । नयाँ तरिकाले चल्दैछौँ ।
बुबाको बिँडो त तपाइँले धान्नुभएको छ, हजुरबुबाको बिँडो नातीनातिनाले धान्लान् कि नधान्लान् ?
मेरो जिन्दगीनै कृष्ण पाउरोटीमा गइसकेको छ । म अहिले ८२ वर्षको भएँ, मेरो उमेर भनेको अब आराम गर्ने उमेर हो । मेरा छोरा छैनन्, छोरीहरू छन् । अहिले उनीहरूले नै सम्हाल्दै छन् । मेरा पाँच वटी छोरीहरू छन् । ठूली छोेरीले आफ्नै व्यवसाय चलाएकी छिन् । माइली छोरी अमेरिकामा छिन् । अन्य तीन जना छोरी बैंक तथा फाइनान्समा जागिरे थिए । तर, अहिले उनीहरूले बैंकको सबै जागिर छोडेर कृष्ण पाउरोटीको व्यवस्थापन सम्हालिरहेका छन् । जागिर गरेर हात थाप्नु भन्दा व्यवसाय गरेर हात माथि पार्नु राम्रो हो भन्ने मेरो सल्लाहलाई मेरा छोरीहरूले राम्ररी बुझेका छन् । छोरीहरू आएपछि कृष्ण पाउरोटीको रूप फेरिएको छ । अहिले फेरि कृष्ण पाउरोटीको उन्नयन भइरहेको छ । म अहिले धेरै खुसी छु ।
विस्तृतमा हेर्नुहोस् भिडिओ अन्तर्वार्ता–
FACEBOOK COMMENTS