काठमाडाैं । घटस्थापनासँगै दसैँ मनाउन उपत्यका बाहिरिनेको संख्या बढ्न थालेको छ । घटस्थापनाको दिन सोमबार करिब एक लाख २० हजार यात्रुले उपत्यका छाडेका छन् । आइतबार नौ हजार तीन सय ६४ गाडीमा ६४ हजार एक सय १० यात्रु बाहिरिएका थिए । सामान्य अवस्थामा दैनिक २० हजारले उपत्यका छाड्ने भएपछि दसैँको वेलामा यो संख्या बढ्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
सोमबार उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधन संख्या आठ हजार ६ सय १२ छ । यसमा ४८ हजार दुई सय ३० यात्रु भित्रिएका हुन् । मंगलबारदेखि उपत्यका बाहिरिने संख्या बढ्दै जाने र भित्रिने संख्या कम हुनेछ । फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छाड्ने ट्राफिक प्रहरी बताउँछन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना सुरु भएपछि अघिकांश विद्यार्थीहरूले उपत्यका छाडेका छन् । जागिरे, व्यापारीलगायतले फूलपातीपछि उपत्यका छाड्छन् ।
यात्रुहरूको चाप बढ्न सक्ने भएकाले यातायात व्यवस्था विभागले सोमबारदेखि ‘रुट फ्री’ गरेको छ । यस अवधिमा जुनसुकै यात्रुवाहक बस जुनसुकै रुटमा गुड्न पाउनेछन् । यात्रुको संख्या अत्यधिक हुने र नियमित गाडीले मात्रै नथेग्ने भएकाले रुट फ्री गर्नुपरेको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयले जानकारी दिए । उनका अनुसार दसैँ नजिकिँदै जाँदा उपत्यका छाड्नेको संख्या बढ्दै जान्छ । यस अवधिमा यात्रुलाई टिकट सहजताका लागि नयाँ बसपार्कमा सयभन्दा बढी स्थानमा टिकट काउन्टर राखिएको छ । यसबाहेक अधिकांश बस व्यवसायीहरूले अनलाइनबाट पनि टिकट बुक गर्न सकिने व्यवस्था मिलाएका छन् ।
विभागका अनुसार हाल देशभर जम्मा ४८ लाख सवारीसाधन छन् । यसमा साना–ठूला गरी साढे तीन लाख यात्रुवाहक सवारीसाधन छन् । मिनीबस र ठूला बसको संख्या झन्डै एक लाख २० हजार छ । त्यसमा पनि एसी सुविधा भएका डिलक्स बसको संख्या १० हजारभन्दा धेरै छ । तर, यतिले मात्रै दसैँको वेलामा थेग्दैन । विभागका अनुसार दसैँको वेला दैनिक सात हजार लामो दूरीका बस गुड्छन् । यसबाहेक अन्य तीन हजार मध्यम दूरीका बस छन् । यी सबैखाले यात्रुवाहक सवारीसाधनमा दसैँको वेला करिब २० लाख मानिसले उपत्यका छाड्नेछन् ।
यातायात व्यवस्था विभाग र उपत्यका ट्रापिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न नाकामा चेकजाँचमा कडाइ गरेको छ । त्यसका लागि करिब १० हजार प्रहरी उपत्यकाका नाकामा परिचालन गरिएको छ । दसैँको वेला छतमा यात्रु राख्न नदिने, लामो दूरीका बसमा दुईजना चालक हुनुपर्ने, बिमा नभएका यात्रुवाहक सवारीसाधन चल्न नदिने, सवारीसाधनको कन्डिसन जाँच गर्नुपर्नेजस्ता नियम बाध्यकारी बनाइएको छ ।
FACEBOOK COMMENTS