काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले छिमेकी मुलुक चीन नेपालको विश्वसिलो र सर्वकालिक बिकास साझेदार भएको बताएकी छिन् ।
निजामती कर्मचारी अस्पतालमा चीनको सहयोगमा स्थापित अन्धोपन रोकथामका लागि लाइफलाइन एक्सप्रेस केन्द्रको शुभारम्भ गर्दै उपाध्यक्ष घिमिरेले नेपालको स्वास्थ्य, पुर्वाधार, पर्यटन लगायतका क्षेत्रको विकासका लागि चीनको सहयोग गर्दै आएको चीन विश्वासिलो र सर्वकालिक विकास साझेदारको रुपमा रहेको धारणा राखिन् ।
‘चीन नेपालको विश्वासिलो, सर्वकालिक विकास साझेदार हो।’ उहाँले भन्नुभयो ‘नेपाल र चीन पुरानो मित्र, असल छिमेकी तथा विश्वासिलो साझेदारको रूपमा परिचित छौं।, नेपाल–चीन सम्बन्ध आपसी सहयोग, समझदारी, एक–अर्काका संवेदनशीलताको कदर र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको बलियो जगमा आधारित रहेको छ।’
उपाध्यक्ष घिमिरेले चीनले कोभिड महामारीको समयमा गरेको भ्याक्सिन लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको सहयोग देखि भौतिक पूर्वाधारको विकास, व्यापार तथा पर्यटन तथा जनस्तरको सम्बन्ध पनि चीन र नेपाल सम्बन्धको विशिष्ट परिचय बनेको बताइन् ।
‘नेपालले लिएको विकास लक्ष्य अनुसार सन् २०२६ सम्ममा हामी अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्न गइरहेका छौं। विकासको यस राष्ट्रिय आकांक्षालाई हासिल गर्न चीनको सदाझैं सहयोग रहनेमा हामी विश्वस्त र्छौं’उनले भनिन् ।

नेपालले चीनसँगको सम्बन्धलाई सधैं उच्च महत्व दिंदै आएको बताउँदै उनले एक चीन सिद्धान्तलाई हामीले दृढताका साथ पालन गर्दै आएको पनि दोहोर्याइन् । यस वर्ष चीन र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले विगत ७० वर्षमा हाम्रो सम्बन्ध निरन्तर बलियो हुँदै बहुआयामिक क्षेत्रमा विस्तारित हुँदै आएको हामीले प्रत्यक्ष खेको बताइन् । ‘सांस्कृतिक तथा आर्थिक–सामाजिक हिसाबले हाम्रो सम्बन्ध कूटनीतिक सम्बन्धभन्दा निकै नै पूरानो रहेको छ।’ उनले भनिन् ‘सुमधुर र समस्या–रहित हाम्रा दुई राष्ट्रबीचको सम्बन्ध चीरकालपर्यन्त रहिरहनेछ।’
